शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – पर्यटकीय क्षेत्रका रुपमा विकास भएको पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गाईबस्तु चराउन बन्द गरेको छ । पर्या–पर्यटनको विकास र वन्यजन्तु संरक्षणका लागि यहाँ चरिचरन बन्द गरिएको कुमरोज सामुदायिक वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिनुभयो ।

सामुदायिक वन संरक्षण भएसँगै यहाँ वन्यजन्तुको वासस्थानमा बृद्धि भएकाले निश्चित स्थान छुट्याएर अन्य क्षेत्रमा चरिचरन बन्द गरिएको हो । सामुदायिक वनले अहिले गाउँका बस्तु चराउन दुई ठाउँमा तारबार लगाएर स्थान छुट्याएको छ । कुमरोज वनको इचर्नी पोष्ट र जनकपुर पोष्टनजिकै झन्डै १०-१० हेक्टर क्षेत्रफलमा मात्रै चरिचरन गर्न पाइने नियम बनाइएको नेपालले जानकारी दिनुभयो ।

अन्य क्षेत्रमा मानिस र पालुवा जनावरको आवतजावत हुँदा पर्या–पर्यटनमा र वन्यजन्तुको वासस्थान प्रभावित हुने भएकाले चरिचरनमा रोक लगाइएको सामुदायिक वनले जनाएको छ । स्थानीय बूढी राप्ती उपभोक्ता समिति, कुमरोज सामुदायिक वन, खैरहनी नगरपालिका, चोरी सिकार नियन्त्रण युवा जागरण अभियानलगायत सङ्घसंस्थाको पहलमा चरिचरन बन्द गरिएको हो ।

जङ्गलमा चरिचरन र घाँस दाउरा गर्न जाँदा वन्यजन्तुको आक्रमणमा परी मानिसको समेत ज्यान जाने खतरा रहेकाले अहिले जोखिम कम भएको स्थानीयवासी गोविन्द दराईले जानकारी दिनुभयो । चितवनको सौराहासँगै जोडिएको उक्त क्षेत्रमा अहिले विदेशी पर्यटकसमेत गैँडा हेर्न पुग्छन् भने हात्ती सफारी र जिप सफारी गरेर वन्यजन्तु अवलोकनको सुविधा उपलब्ध गराइएको छ ।

तपाईको प्रतिक्रिया