शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आयोजना गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो ३ बजेका लागि बैठक बोलाइएको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बैठकमा आमन्त्रण गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा सबै राजनीतिक दलको विश्वास लिन र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व सबै दलको हो भन्ने आत्मबोध गराउन नै प्रधानमन्त्रीले छलफल आयोजना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

संविधान संशोधन प्रस्ताव द्रुतमार्गबाट अगाडि बढाएर मुलुकभर नै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्यलाई प्रधानमन्त्रीले प्रमुख प्राथमिकतामा राख्नुभएअनुसार नै छलफल आयोजना गरिएको उहाँको भनाइ छ ।

बैठकमा सत्तारूढ दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाललगायत संसदमा प्रतिनिधित्व गर्ने सबै दलललाई आमन्त्रण गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया