बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

साधारण तथा कम मूल्यको औषधिको प्रयोगबाट पनि सुत्केरी भएपछि उच्च रक्तश्रावका कारण हुने महिलाको ज्यान गुमाउने दर घटाउन सकिने अनुसन्धानकर्ताले बताएका छन् ।

विश्वभर हरेक वर्ष झण्डै १ लाख महिलाले सुत्केरीपछि हुने उच्च रक्तश्रावका कारण ज्यान गुमाउने गरेको तथ्यांक छ । द ल्यानसेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा  ट्रानेसामिक एसिड नामक औषधिले सुत्केही महिलाको मृत्युदर एक तिहाईले घटाउने उल्लेख छ ।

यसले रक्तश्रावलाई रोकेर शरीरको रक्तप्रवाहलाई सन्तुलित राख्ने अनुसन्धानकर्ताले बताएका छन् । यो औषधि १९६० को दशकमा  जापानका एक दम्पतीले पत्ता लगाएका थिए । बच्चालाई जन्म दिएको ३ घण्टाभित्र ट्रानेसामिक एसिडको प्रयोगले ३१ प्रतिशत महिलाको ज्यान जोगिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले पनि सुत्केरीपछि हुने अधिक रक्तश्राव रोक्न यसको प्रयोग बढाउनुपर्नेमा जोड दिने बताएको छ । विश्वका २० देशमा अहिले पनि ७७ प्रतिशत भन्दा धेरै सुत्केरीको ज्यान उच्च रक्तश्रावका कारण जोखिममा रहने गरेको छ ।

अफ्रिकी देश सिएरा लियोन मातृ मृत्युदर बढी भएको देश मध्येमा पर्छ त्यहाँ हरेक एक लाख सुत्केरीमा १३ सय ६० जनाको ज्यान जाने गरेको छ ।

डब्लुएचओका अनुसार कोलम्बियामा हरेक एक लाख सुत्केरीमा ६४ जनाको ज्यान जाने गरेको छ । मातृ मृत्युदर कम भएका देशमा ग्रिस, पोल्याण्ड र फिनल्याण्ड पर्छन् । यी देशमा रहेक एक लाख सुत्केरीमा तीन जनाको मात्रै ज्यान जाने गरेको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया