बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले एनालग प्रणालीमा सञ्चालित केबललाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न गृहकार्य भइरहेको जनाउँदै वैशाख १५ देखि केबल टेलिभिजन बन्द हुने जस्ता विज्ञापन तथा सूचना प्रसारण भएकामा खण्डन गरेको छ । सरकारले २०७१ मङ्सिर २१ गतेदेखि नै एनालग प्रविधिबाट सञ्चालित केबल नेटवर्कलाई इजाजत दिने कार्य बन्द गरिसकेको छ ।

यसअघि एनालग प्रविधिमा इजाजत प्राप्त केबल नेटवर्कलाई चरणबद्ध रुपमा डिजिटल प्रणालीमा रुपान्तरण गर्ने नीतिअनुरुप यही वैशाख १५ गतेसम्ममा काठमाडौं ललितपुर र लेखनाथ पोखरा महानगरपालिका तथा विराटनगर र वीरगन्ज उपमहानगरपालिका क्षेत्रमा सञ्चालित एनालग प्रविधिका केबल नेटवर्कले डिजिटल प्रविधिको स्थानीय प्रणालीमा रुपान्तरण गरिसक्नुपर्ने कानुनी व्यवस्थाअनुरुप ‘डिजिटल सिग्नल’ मात्र ग्राहकलाई वितरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

यी क्षेत्रमा एनालग प्रणालीको हेडइन्ड भएका एनालग केबललाई सिग्नल वितरण नगर्नसमेत सिग्नल वितरकलाई मन्त्रालयले आग्रह गरेको छ । साथै सो क्षेत्रका केबल टिभी उपभोक्ताहरूलाई पनि आआफ्नो केबल टेलिभिजन डिजिटल प्रविधिमा रुपान्तरण नभएको भए केवल नेटवर्क सञ्चालकलाई जानकारी गराई गुणस्तरीय डिजिटल सिग्नल प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया