शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

वासिंटन – परमाणु कार्यक्रमलाई निरन्तरता दिएको तथा लगातार मिसाइल परीक्षण गरेको भन्दै अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने भएको छ ।
संयुक्त राष्ट्र संघको चेतावनीलाई समेत बेवास्ता गर्दै उत्तर कोरियाले लगातार आफ्ना परमाणु कार्यक्रम जारी राखेपछि अमेरिकाले प्रतिबन्ध थप कडा बनाउने र कूटनीतिक कदम चाल्ने तयारी गरेको हो । उत्तर कोरियाका बारेमा ह्वाइट हाउसले सिनेटलाई विशेष ब्रिफिङ गर्दैछ ।
यो ब्रिफिङपछि उत्तर कोरियाको विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ रणनीतिको घोषणा गरिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाले अहिले दक्षिण कोरियामा मिसाइल सुरक्षा प्रणाली तैनाथ गरेको छ । यस्तै अमेरिकी लडाकु पानीजहाज पनि दक्षिण कोरिया पुगेको छ ।
उत्तर कोरियाले नयाँ परमाणु हतियार परीक्षणको तयारी गरिरहेको विशेषज्ञले बताएका छन् । यसले गर्दा कोरियाली प्रायद्विपमा तनाव बढेको छ । उत्तर कोरियाले आफू जस्तोसुकै प्रतिवादका लागि तयार रहेको बताएको छ भने अमेरिकाले चुनौतीको सामनाका लागि आफू पनि तयार रहेको बताउँदै आएको छ । उत्तर कोरियाको एकमात्र सहयोगी चीनले भने युद्धको अवस्था आउन सक्ने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया