शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले हरेक घरबाट कम्तीमा एकजनालाई रोजगारी दिनेसहितको घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरमा राप्रपा अध्यक्ष कमल थापाले सार्वजनिक गरेको ‘संकल्पपत्र’ नाम दिएको घोषणापत्रमा बेरोजगारलाई स्वरोजगारको लागि तालिम उपलव्ध गराउने लगायतका विषय समेटिएको छ ।

यस्तै राप्रपाले १० वर्षमा सबै नगरपालिकालाई स्मार्ट सिटी बनाउने पनि घोषणा गरेको छ । आफ्नो पार्टीले कहिल्यै पनि नेपाल बन्द नगर्ने घोषणा गर्दै अध्यक्ष थापाले आफूले चुनाव जितेका गाउँपालिका वा नगरपालिकामा स्थानीय कानुन बनाएर कसैलाई पनि बन्द अड्ताल गर्न नदिने बताउनुभयो ।

राप्रपाले आफूले चुनाव जितेका स्थानीय तहमा २५ शैयाको अस्पताल बनाउने र स्वयम् सेविका परिचालन गरेर घर घरमा स्वास्थ्य सम्बन्धी चेतना फैलाउने प्रतिवद्धता पनि जनाएको छ । ५ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने र नवजात शिशुलाई ५ हजार रुपैयाँ पोषण भत्ता दिने घोषणा पनि गरेको छ । यस्तै क्यान्सर र मृगौला रोगबाट पीडित विरामीलाई कम्तीमा एक लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराउने, खाद्य सुरक्षा नीति, उदार अर्थनीतिलाई राप्रपाले आफ्नो घोषणापत्रमा प्राथमिकता दिएको छ ।

जनकपुरको रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न विशेष पहल गर्ने भन्दै राप्रपाले मिथिला, लुम्बिनीलाई बौद्ध र विजयपुरलाई किराँत संस्कृतिको बृहत केन्द्र बनाउने योजना पनि घोषणापत्रमा समेटेको छ ।

यस्तै राप्रपाले शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउने, माध्यामिक तहमा शिक्षा निःशुल्क गर्ने, गाउँपालिका र नगरपालिकाको कोषबाट छात्रबृत्ति उपलब्ध गराउने, शिक्षकलाई राजनीति गर्नबाट पूर्ण रुपमा रोक लगाउने, पाठ्यक्रममा विविधता ल्याउने आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

गरिबी निवारणका लागि राप्रपाले भोजन, आवास, स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतासाथ घोषणापत्रमा समेटेको छ । राप्रपाले ठूला दलहरुमा कुनै स्पष्ट विचार र योजना नभएको आरोप लगाउँदै मुलुकको समृद्धिका लागि राप्रपालाई अबको मुख्य विकल्पका रुपमा जिताउन सक्ने दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया