बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

कपिल शर्मासँग छुट्टिएपछि सुनिल ग्रोवर नयाँ शोको अवधारणालाई लिएर आफ्नो योजना तीव्र गतिमा लगिरहेको खबर छ । साथै यही खबरसँगै सुनिलले नयाँ खुलासा गर्नुभएको छ ।

फिल्मीबिटका अनुसार उहाँले एउटा अन्तर्वार्तामा कुराकानी गर्दै अहिलेसम्म उहाँले सोनी टीभी वा अरू च्यानलसँग कुनै पनि साइन नगरेको बताउनुभएको छ ।

‘द कपिल शर्मा शो’को उहाँ हिस्सा भएपनि केही समयदेखि यो शोबाट बाहिर रहेको बताउँदै उहाँले आफू पर्फमर भएको र दर्शकलाई मनोरञ्जन गराउने बताउनुभयो । उहाँले कयौँ ठाउँबाट आफूलाई अफर आइरहेको समेत खुलासा गर्नुभयो ।

तर सुनिलले अहिलेसम्म कुनै निर्णय नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म चाँडै नै केही नयाँ अवश्य गर्नेछु । म सधैँ यो शोको आभारी रहनेछु । म भाग्यमानी छु किनभने यो शोबाट मैले यति धेरै माया पाएँ ।”

कपिल र सुनिलबीचको विवादपछि कपिल अहिले चुपचाप हुनुहुन्छ । सुनिलको नयाँ शोका लागि उहाँले आफ्नोतर्फबाट कुनै टिप्पणी दिनुभएको छैन ।

सोनी टीभी र कपिल अहिले पनि लगातार सुनिललाई शोसँग जोड्ने प्रयास गरिरहेका छन् । अब सुनिलले अर्को नयाँ शो ल्याउनुहुन्छ कि फेरि कपिल शर्मा शोमा आउनुहुन्छ हेर्न रमाइलै होला ।

तपाईको प्रतिक्रिया