शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – सरकारले काठमाडौं उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी निर्माण गर्ने भएको छ ।सार्वजनिक स्थानमा ट्यांकी निर्माण भएपछि उपत्यकावासीलाई खानेपानी लिन निकै सहज हुने भएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले सात दिनभित्र उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी राख्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिइसकेको छ ।

मन्त्रालयका अनुसार ट्यांकीमा राखिएको पानी सीधै पिउन सकिनेछ ।

ट्यांकी राख्न १० लाख खर्च

खानेपानी ट्यांकी निर्माणका लागि सरकारले १० लाख रुपैयाँ खर्च गर्ने भएको छ । ट्यांकी राख्नुअघि केयुकेएलले पहिलो चरणमा खानेपानीको संकटग्रस्त क्षेत्र पहिचान गर्ने भएको छ ।

उपत्यकाका सुक्खा क्षेत्र र पानीको संकट भएका ठाउँमा स्थानीयको सहभागितामा उपभोक्ता समिति गठन गरिनेछ । केयुकेएलका महाप्रबन्धक महेश भट्टराईका अनुसार निर्माण गरिएको ट्यांकी सोही समितिलाई हस्तान्तरण गरिनेछ ।

‘खानेपानीको संकटग्रस्त ठाउँलाई पहिलो प्राथमिकता दिइनेछ । ट्यांकी निर्माणपछि उपभोक्तालाई हस्तान्तरण गरिनेछ,’ भट्टराईले भन्नुभयो ।

केयुकेएलका अनुसार एउटा ट्यांकी पाँच हजारदेखि १० हजार लिटर क्षमताका हुनेछन् । रुटिङ मिलाएर ट्यांकीमा केयुकेएलले नियमित ट्यांकरबाट खानेपानी भर्नेछ । ‘ट्यांकीको क्षमता पाँच हजारदेखि १० हजार लिटरको हुनेछ । शुद्ध पानी राखिने भएकाले सीधै खानयोग्य हुनेछ,’ भट्टराईले भन्नुभयो ।

केयुकेएलका अनुसार खानेपानीको संकटग्रस्त क्षेत्रमा अहिले पनि एक सयभन्दा धेरै सार्वजनिक ठाउँमा ट्यांकी राखिएका छन् । ती सबै ट्यांकी पाँच हजारदेखि १० हजार लिटर क्षमताका छन् । निर्माण गरिएका सबै ट्यांकी स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया