शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – गोर्खा भूकम्पको केन्द्रविन्दू गोरखा जिल्लाको बारपाक । भूकम्प अघि पर्यटकीय गाउँको रुपमा परिचित बारपाक अहिले पर्यटकीय गाउँको हिसाबले नभइ गोर्खा भूकम्पकै कारण विश्वमाझ परिचित छ । गोर्खा भूकम्पकै कारण अहिले नेपाल सरकारसहित अधिकांश सरकारी तथा गैरसरकारी निकायहरुको ध्यान बारपाकको पुनर्निर्माणमा छ । तर, बारपाकमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ बैशाख १२ गते शिल्यान्यास गर्नुभएको घरको अवस्थाले भने समग्र बारपाकको पुनर्निर्माणलाई गिज्याइरहेको छ ।

गोर्खा भूकम्पको दुई वर्षको स्मृतिमा हामी रिपोर्टिङकै लागि बारपाक पुग्यौं । भूकम्प अघि बारपाकको त्यो मनमोहक दृश्य मनभरि÷दीलभरि कैद गरेको मेरा लागि भूकम्पपछिको क्षतविक्षत बारपाकको वर्तमान अवस्था कष्टकर हुने पक्का थियो । तथापी, ‘पहिलेको बारपाक, बलियो बारपाक’ बनाउने अभियानले बारपाकको भविश्य झनै सुन्दर बन्दै होला भन्ने मेरो कल्पना थियो ।
बारपाक पुगेपछि पुनर्निर्माणमा चासो राख्ने हरेकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गोर्खा भूकम्पको एक वर्षको स्मृतिमा गत बैशाख १२ गते शिल्यान्यास गरेको घरप्रतिको चासो बढ्छ । तर, एक विशेष समारोहको आयोजना गरि राष्ट्रपति भण्डारीले शिलान्यास गरेको घरको अहिलेको अवस्था हेर्ने हो भने दयनीय छ । ब्लकबाट बन्दै गरेको गोपाल विश्वकर्माको सो घरलाई राष्ट्रिय पुनर्निर्माण प्राधिरणले मान्यता दिएको छैन ।

पहिलो किस्ताको रकम पाएपछि सुरुवात गरिएको सो घरले दोस्रो किस्ताको रकम पाइसक्नु पर्ने हो । तर, प्राधिकरणले जारी गरेको “निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधि २०७३” मा नपरेको भन्दै घरधनी गोपाल विश्वकर्मालाई दोस्रो किस्ताको रकम दिन नसकिएको सो क्षेत्रमा कार्यरत सरकारी इन्जिनियर कमलबहादुर कठायतले बताउनु भयो । उहाँले बनाउनु भएको घर प्राधिकरणको कार्यविधिमै छैन । कठायत भन्नुहुन्छ – ‘हामीले सम्झायौं, तर आर्थिक अभाव भएको भन्दै घरधनीले यस्तै घर बनाउने इच्छा व्यक्त गरेपछि आफूहरुले दोस्रो किस्ताका लागि सिफारिस गर्न सकेनौं ।’

यस्तो दुःखद् खबरपछि हामीले घरधनी गोपाल विश्वकर्मालाई प्रश्न गर्यौ – राष्ट्रपतिले शिलान्यास गरेको घर त नमूनाको बन्नु पर्ने होइन र ?’ उहाँको जवाफ थियो ‘सबैले पिलरवाला र ढुंगामाटोको घर बनाएका छन्, मैले नमूना कै बनाएँ ।’ यस्तो यथार्थताले राष्ट्रपतिले शिल्यान्यास गरेको घरप्रति सरकारको चासो र निगरानी कत्तिको रहेछ भन्ने पनि प्रष्ट देखाइदिएको छ ।

बारपाकमा लाभग्राहीको संख्या १३ सय १ रहेको छ । जस्मा १२ सय ९० ले पहिलो किस्ताको रकम लिएका छन् । सो क्षेत्रमा अहिले करीब ५ सयको हाराहारीमा घरहरु बन्दै रहेछन् । २ सय घर भने पूर्ण रुपमा बनिसके । बनेका २ सय घर निरीक्षण गर्दा ३५ घरमा मात्र मापदण्ड पूरा भएको पाइयोे । यो तथ्यांकले पनि बारपाकको पुनर्निर्माणको अवस्था प्रष्ट देखिन्छ । करीब दुई वर्ष पछि हामी बारपाक पुग्दा पनि अझै बारपाकवासीमा बलियो घर वा भूकम्प प्रतिरोधी घर भनेको पिलरको घर मात्र हो भन्ने बुझाइ रहेछ ।

सोही कारण अधिकांश बारपाकवासी पिलरको घर बनाउन चाहन्छन् । तर, बनाउँदै जाँदा रकम अभाव भएपछि उनीहरु सरकारको मापदण्ड बाहिर जान बाध्य छन् । यसैको शिकार अहिले बनेका करीब ९० प्रतिशत घर सरकारको मापदण्डमा पर्न सकेको छैन । सबैको चासो र ध्यान गएको बारपाकको पुनर्निर्माणको यो अवस्था छ भने अन्य ठाउँको अवस्था कस्तो होला ? किन बिरायो बारपाकले पुनर्निर्माणको बाटो ? किन बन्न सकेन पुरानो बारपाक र बलियो बारपाक ? अब के गर्ने ? यो प्रश्न हाम्रो हो, आधिकारिक निकायलाई ?

तपाईको प्रतिक्रिया