बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – आठ महिना अघि जापान आउनु भइ असामयिक निधन हुनु भएका खेमराज डाँगीको अन्तेष्टिसँगै उहाँको अस्तु परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम समापन भएको छ ।
झापाली समाज – जापानको संयोजकत्वमा झापा शनिश्चरे ३ घर भई रोजगारको सिलसिलमा जापान आउनु भएका डाँगीको गत अप्रिल १५ मा निधन भएको थियो । गत शुक्रवार एक कार्यक्रमको आयोजना गरि टोक्योस्थित निसी गोताण्डा किरीगाया साइज्योमामा मृतक डाँगीको अन्त्यष्टि गरियो भने २३ तारिख उहाँको परिवारलाई अस्तु हस्तान्तरण गरिएको हो । उहाँको पार्थिव शरीरमा भावपूर्ण श्रद्धान्जली दिन जापानका लागि नेपाली कार्यबाहक राजदूत कृष्ण अर्याल, एनआरएन जापानका उपाध्यक्षद्वय देविलाल भण्डारी र टासी लामा, झापाली समाज जापानका महासचिव चुडामणि काफ्ले, एनआरएन जापानका सचिव बुद्धिराज घिमीरे, मृतक कार्यरत कम्पनीका प्रतिनिधी लगायतलविविन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
श्रद्धान्जली कार्यक्रममा बोल्दै राजदुत कृष्ण अर्यालले मृतकको परिवारलाई राहत पुर्याउन राजदुतावासले जुनसुकै भूमिका खेल्न तयार रहेको बताउनु भयो । मृतकका सालो राजकुमार कुँवरले मृतकको पारिवारिक अवस्थाको बारेमा जानकारी गराउँदै जापानमा कार्यरत सबै नेपालीहरुलाई सहयोगका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा एनआरएन उपाध्यक्ष देविलाल भण्डारीले अन्तिम संस्कारसम्म आईपुग्दाका गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो । मृतक डाँगीको अन्त्यष्टि र परिवारलाई सहयोग रकम उपलब्ध गराउनको लागि झापाली समाज – जापानको संयोजकत्वमा अभियान चालिएको थियो। संकलित राहत रकम मृतककी श्रीमतीको बैँक खातामा पठाईने जानकारी संस्थाका महासचिव चुडामणि काफ्लेले दिनु भयो ।

तपाईको प्रतिक्रिया