बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो –  नेपालको राजनैतिक दलका जापानमा क्रियाशील भात्तृसंगठनहरुको संयुक्त आयोजनामा टोकियोमा एघारौं लोकतन्त्र दिवस मनाईने भएको छ ।

आउँदो अप्रिल २३ तारिख आइतवारका दिन एक समारोहको आयोजना गरी संयुक्तरुपमा लोकतन्त्र दिवस मनाउन लागिएको हो ।

नेपाली काँग्रेसको भात्तृसंगठन नेपाली जनसम्पर्क समिति, नेकपा एमालेको भात्तृसंगठन प्रवासी नेपाली मञ्च (ONF) , नेकपा माओबादी केन्द्रको भात्तृसंगठन नेपाली जनप्रगतिशील मञ्च, राप्रपा नेपालको भात्तृसंगठन प्रवासी नेपाली संगठन (ONO), राष्ट्रिय जनमोर्चा नेपालको भात्तृसंगठन नेपाली एकता समाज, नेकपा माओबादीको भात्तृसंगठन नेपाली जनप्रगतीशिल समाज, नयाँ शक्ति पार्टी नेपालको भात्तृसंगठन अन्तर्राष्ट्रिय नेपाली समाजको संयुक्त आयोजनामा उक्त लोकतन्त्र दिवस मनाउन लागिएको हो ।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरी एघारौं लोकतन्त्र दिवस मनाउन लागिएको जनसम्पर्क समितिका कार्यबाहक अध्यक्ष पुष्करजंग थापाले समुद्रपारिलाई बताउनुभयो ।

स्थानीय निकायको निर्वाचनको पूर्वसन्ध्यामा मुलुक निर्वाचनमय भईरहेको र दलहरु आ-आफ्नै चुनावी अभियानमा होमिएको बेला जापानमा क्रियाशील भात्तृसंगठनहरु एउटै मञ्चमा लोकतन्त्र दिवस मनाउन लागेका हुन् । भात्तृसंस्थाहरुले यसरी संयुक्त रुपमा कार्यक्रम गरेर जापानमा राम्रो सन्देश दिन खोजिएको भन्दै सकारात्मक टिप्पणीहरु गर्न थालिएको छ ।

यसरी संयुक्तरुपमा कार्यक्रम गर्नाले लोकतन्त्र दिवसप्रतिको महत्व र भात्तृसंस्थाहरुबीच रहेको एकता र सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको आयोजक संस्थाहरुले बताएका छन् ।
आइतवार अपरान्ह ४ बजेदेखि नेपाली मुरा हलमा हुने उक्त कार्यक्रममा उपस्थित भईदिन जापानबासी नेपालीहरुमा अपील गरिएको छ । ***
***

तपाईको प्रतिक्रिया