शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापानी कानुन मन्त्रालयले गरेको एक सर्बेक्षण रिपोर्टबाट जापानमा बसोबास गर्ने अधिकांश बिदेशीहरुले भेदभावको अनुभव गरेको खुलासा भएको छ । जापानमा कुल जनसंख्याको करिब २ प्रतिशत मात्र बिदेशी नागरिक हुनुको कारणमा यो पनि एक हुनसक्ने बताईएको छ । भाषामा समस्या नभए पनि करिब ९५ प्रतिशत बिदेशीहरुले बिदेशी भएकै कारण काममा तथा घर, कोठा खोज्ने क्रममा आफ्नो आवेदन अस्विकृत भएको अनुभव बटुलेको रिपोर्टमा उल्लेख छ । सर्बेक्षणको क्रममा एक कोरियाली नागरिकले आफ्नो नागरिकताको कारण घरबेटीले आफुलाई कोठा नदिएको अनुभव सुनाएको जापान टुडेमा प्रकाशित छ । आफु जापानमै जन्मिएर हुर्की, जापानी भाषा बाहेक बोल्न नजान्ने भए पनि नागरिकताको कारण आफुले धेरै भेदभाव भोग्दै आएको उनले बताईन् ।

बिदेशीहरुले जापानमा कस्तो खालको भेदभाव भोगेका छन् तथा जापानमा बिदेशीको मानब अधिकारको बारेमा कस्तो अवस्था छ भन्ने तथ्य पत्ता लगाउनका लागि कानुन मन्त्रालयले यो सर्बेक्षण गरेको बताएको छ । जापानको सरकारी निकायबाट यस्तो सर्बेक्षण गरेको पहिलो पटक भएको बताईएको छ । गत नोभेम्बर र डिसेम्बर महिनामा गरिएको सो सर्बेक्षणमा १८ हजार ५ सय जना बिदेशीहरुलाई प्रश्नावली सोधिएकोमा ४ हजार २ सय ५२ जनाले उत्तर दिएका थिए । जसमा आधा भन्दा बढि कोरियाली र चिनियाँ नागरिक थिए भने ४० प्रतिशत सहभागीहरु एक दशक भन्दा बढि जापान बसोबास गरेकाहरु थिए ।

सर्बेक्षणमा सहभागी मध्ये करिब २० प्रतिशतले गत ५ बर्षमा काम सुरु गरेको र एकै प्रकृतिका कामका लागि जापानी नागरिक भन्दा कम पारिश्रमिक पाउने गरेको पनि रिपोर्टमा उल्लेख छ । त्यसैगरी, १७ प्रतिशतले भने आफुहरु बिदेशी भएकै कारण पदोन्नती हुन नसकेको कुरा ब्यक्त गरेका छन् । १३ प्रतिशतले भने जापानीको तुलनामा नराम्रो बातावरणमा काम गर्नुपरेको पनि बताएका छन् । सर्बेक्षणमा सहभागी मध्ये ३० प्रतिशतले आफुहरुले बारम्बार अपमान तथा भेदभाव ब्यहोर्नुपरेको पनि बताएका छन् ।

टोकियो ओलम्पिक २०२० पनि नजिकिंदै गर्दा जापानका स्थानिय निकायहरु बिदेशीप्रति हुने बिभिन्न किसिमका भेदभाव प्रति सचेत हुन थालेका छन् । तर त्यसलाई न्युनिकरण गर्ने ठोस कार्यक्रम भने अझै आउन नसकेको बिश्लेषकहरु बताउँछन् । ***

तपाईको प्रतिक्रिया