बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – करिव ८ महिना अगाडि जापान आएका एक नेपाली युवाको गएराति टोकियोमा आकस्मिक निधन भएको छ ।

झापा शनिश्चरे – ३ का खेमराज डाँगीको गएराति उपचारको क्रममा ओमोरीस्थित अस्पतालमा निधन भएको मृतक डाँगीका साला राजकुमार कुँवरले समुद्रपारिलाई बताउनुभयो ।

कामातास्थित तामागोया नामक बेन्तो कम्पनीको राइस सेन्टर सेक्शनमा काम गर्दै आएका डाँगी शनिबार साँझ कम्पनीद्वारा आयोजित एक डिनर पार्टीमा सामेल भईरहेको अवस्थामा अचानक बेहोस भई तत्काल नजिकको ओमोरी अस्पताल पुर्‍याईएको भए पनि उपचारकै क्रममा राती ९:३५ बजे अस्पतालले मृत घोषणा गरेको थियो । मृतक डाँगीको पार्थिव शरिर पोष्टमार्टमको लागि अहिले इकेगामी प्रहरीले नियन्त्रणमा लिएको थाहा भएको छ । पोष्टमार्टमको रिपोर्ट भने भोलि सोमबार दिउसो २ बजे दिने प्रहरी स्रोतले जनाएको छ ।
३८ वर्षिय डाँगीको नेपालमा श्रीमती र ७ वर्षिय छोरा छन् ।

उता डाँगीकी श्रीमती पनि किड्नीको समस्याबाट ग्रसित रहेको बताईएको छ । संभव भएसम्म मृतक डाँगीको पार्थिव शरीर नेपाल पठाईदिन र संभव नभए आफु जापान आएर मृतक श्रीमानको अनुहार हेरेर मात्र अन्त्येष्टि गर्ने श्रीमतीले ईच्छा ब्यक्त गरेको पारिवारिक स्रोतले जनाएको छ ।

यस प्रकारको असहज परिस्थितिमा स्व. डाँगीको अन्त्येष्टि एवं परिवारका लागि तात्कालिक सहयोग जुटाईदिन जापानबासी नेपालीहरुमा स्व. डाँगीको परिवारको तर्फबाट राजकुमार कुँवरले अपील गर्नुभएको छ । सहयोग गर्न ईच्छुकहरुका लागि हुलाक एकाउन्ट 18120-32230411 Kunwar Rajkumar (Mob. 080-3707-9700) रहेको छ । ***

तपाईको प्रतिक्रिया