शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

विश्वको सबैभन्दा ठूलो भिडियो स्ट्रिमिंग साइट यु ट्युबले आफ्नो विज्ञापन रणनीतिमा महत्वपूर्ण परिवर्तन गरेको छ । सामाग्रीहरुको चोरी रोक्ने उपायका रुपमा यु ट्युबले यस्तो परिवर्तन गरेको हो ।

जस अनुसार यु ट्युबले १० हजार भन्दा कम भ्यूज भएका च्यानलका भिडियोहरुमा विज्ञापन दिनेछैन । यसबाट पैसा कमाउनका लागि पाइरेटेड तथा आपत्तिजनक भिडियोको प्रयोग गर्नेहरु निरुत्साहित हुनेछन् ।

यु ट्युबमा भएका आपत्तिजनक भिडियोहरुमा समेत आफ्ना विज्ञापन देखाइएको भन्दै विश्वका विभिन्न चर्चित कम्पनीहरुले यु ट्युबमा विज्ञापन बहिस्कार गर्ने चेतानवी दिएसँगै यु ट्युबले यस्तो कदम चालेको हो ।

यो नयाँ प्रयोग पश्चात यु ट्युबलाई कुनैपनि च्यानलको प्रमाणिकता पुष्टि गर्न विवरण प्राप्त हुने र च्यानलहरुले यु ट्युबको नियम पालना गरे नगरेको पनि पत्ता लगाउन सकिने यु ट्युबका उपाध्यक्ष एरियल बार्डिनले बताउनुभयो ।

उनका अनुसार यु ट्युबले यु ट्युबमा भिडियो राखेर पैसा कमाउन चाहने नयाँ सर्जकहरुलाई लक्षित गरी रिभ्यु प्रक्रियाको पनि थालनी गर्दैछ । जब कुनै च्यानलले १० हजार भ्यूज पूरा गर्दछ तब यु ट्युबले उक्त भिडियोको मूल्यांकन गरी त्यसले यु ट्युबको नियम पालना गरे नगरेको पत्ता लगाउँछन् । मूल्यांकनमा पास हुने भिडियोले बल्ल यु ट्युबमा विज्ञापन पाउनेछ ।

यसबाट नियम पालना गर्ने यु ट्युबका सर्जकहरुमा विज्ञापनबापतको रकमको हिस्सा पुग्नेछ । विज्ञापनदाता र यु ट्युबमा भिडियो राख्ने सर्जकहरुबीच सन्तुलन कायम गर्नु यु ट्युबका लागि ठूलो चुनौति हो ।

केही दिनअघि गुगलले एउटा घोषणा गर्दै यु ट्युबको भिडियो नीतिलाई कार्यान्वयन गर्न तथा आपत्तिजनक सामाग्रीहरुलाई निर्मूल पार्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीको प्रयोग गरिरहेको बताएको थियो । यु ट्युबमा कुनै अतिवादी सामाग्रीहरुसँगै आफ्नो विज्ञापन देखिने डरका कारण विभिन्न कम्पनीहरुले यु ट्युबलाई विज्ञापन दिन छाडेका थिए ।

तपाईको प्रतिक्रिया