शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियाको सफलतालाई ठूला र विकसित मुलुकले प्रचार गर्न नचाहेको बताउनुभएको छ । नेपालको शान्ति प्रक्रियाबारे अध्ययनमा आएको म्यानमारको शान्ति प्रमण्डलसँग ‘सेन्टर फर ह्युम्यानिटेरियन डायलग’ र ‘इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज’ ले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो – “नेपालको शान्ति प्रक्रिया विश्वमा सफलतम् उदाहरणमध्येको एक हो तर नेपाल सानो र गरिब मुलुक भएकाले होला यो सफलतालाई स्थापित र प्रचार गर्न ठूला र धनी मुलुकले चाहेनन् ।”

उहाँले युरोप, ल्याटिन अमेरिका वा अन्य ठूला मुलुकका यस्ता सफल अभ्यास भएका भए व्यापक प्रचार हुने टिप्पणी गर्दै ती मुलुकले नेपालको सफल शान्ति प्रक्रिया स्थापित गर्ने र यसबाट अरु मुलुकले सिक्ने विषय स्वीकार्य नभएको टिप्पणी गर्नुभयो ।  राजाले प्रत्यक्ष शासन सञ्चालन गरे पनि तत्कालीन विद्रोही नेकपा (माओवादी)का अध्यक्षका हैसियतमा आफूले एकपक्षीय युद्धविराम घोषणा गरी सात दलसँगको सहकार्यमा १२ बुँदे सहमति गरेको, हतियार र सेना समायोजन हुँदै हाल संविधानसभाबाट नयाँ संविधान जारीपछि नेपालको शान्ति प्रक्रिया आधारभूत रुपमा पूरा र सफल भएको उहाँले बताउनुभयो ।

प्रत्येक देशको शान्ति प्रक्रियाका विशिष्ट र मौलिक अनुभव हुने भन्दै उहाँले राजनीतिक उद्देश्य र जनताका जायज मागमा आधारित विद्रोहलाई शान्ति प्रक्रियाबाट हल गर्न सकिने भन्दै आतङ्ककारी र अराजक गतिविधिलाई चाँही कानुनको पालनाबाटै समाधान गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको शान्ति प्रक्रियाका अनुभवको अध्ययन गर्न आएकामा म्यानमारका टोलीलाई धन्यवाद दिँदै प्रधानमन्त्री दाहालले त्यहाँको शान्ति प्रक्रियाको सफलताको कामना गर्नुभयो । छलफलमा नेपाली काँग्रेसका नेत्री सुजाता कोइराला, नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गङ्गालाल तुलाधार, पूर्व सभामुख दमननाथ ढुङ्गानालगायत पनि सहभागी हुनुहुन्थ्यो ।

इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिजका अध्यक्ष डा राम थपलियाले म्यानमारको अध्ययन टोलीले नेपालको शान्ति प्रक्रियाको अध्ययन गर्नुले नेपालको शान्ति प्रक्रियाको अन्तर्रा्ष्ट्रिय समुदायमा मान्यता हासिल हुनु हो भन्नुभयो । म्यानमारका नेसनल लिवरेसन अर्गनाइजेसनका कर्णेल खुन ओकरको नेतृत्वमा २२ सदस्यीय टोली नेपालको पाँचदिने भ्रमणमा रहेको छ ।

तपाईको प्रतिक्रिया