बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – कैलालीको अत्तरियामा हुने देशकै ठूलो पुरस्कार राशीको अत्तरिया कप महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने टिम र कप्तानको घोषणा गरिएको छ । आयोजक युनाइटेड अत्तरिया स्पोर्टस क्लब अत्तरियाले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितामा सहभागि देशभरका विभिन्न ६ टिम र तिनका कप्तान घोषणा गरेको हो ।

प्रतियोगितामा नेपाल एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा, राईजिङ क्रिकेट एकेडेमी, काठमाडौं, कैलाली जिल्ला क्रिकेट एकेडेमी, कैलाली, कञ्चनपुर ११ तथा बारा महिला क्रिकेट एकेडेमीको सहभागिता रहनेछ ।
टिमको कप्तानी महिला राष्ट्रिय टिमका खेलाडीहरुले गर्ने भएको आयोजकले जनाएको छ । एपिएफको कप्तानमा विना बुढामगर, मिलन क्रिकेट एकेडेमीको कप्तानमा रुविना क्षेत्री, राइजिङको कप्तानमा आरती विडारी, कैलालीको कप्तानमा अन्जली चन्द, कञ्चनपुर –११ को कप्तानमा विन्दु रावल तथा बाराको कप्तानी मनिषा चौलागाईंले गर्नुहुने भएको छ ।

आयोजक युनाइटेड अत्तरिया स्पोर्टस क्लबका अध्यक्ष रबि खनालले नेपालमा घरेलु महिला क्रिकेटका प्रतियोगिताहरु निकै कम हुने गरेको भन्दै महिला क्रिकेट विकासको लक्ष्यसहित क्लबले देशकै ठूलो पुरस्कार राशीको प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता वैशाख १० गतेदेखि अत्तरियास्थित सशस्त्र प्रहरी बल एपिएफको क्रिकेट मैदानमा हुनेछ । टी–ट्वान्टीको बिजेताले २ लाख तथा उपबिजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन । दश दिन चल्ने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी राउन्ड रोविन लिगका आधारमा खेलाइने तथा लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल खेलहरु हुनेछन् ।

प्रतियोगिताको अनुमानित बजेट झण्डै ३५ लाख रुपैयाँ रहेको क्लबका अध्यक्ष खनालले बताउनु भएको द्ध । प्रतियोगिताका प्लेयर अफ दि सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ पफर्मेन्स, वेस्ट बलिङ पफर्मेन्स, विकेटकिपरलाई समान १० हजार रुपैयाँ प्रदान गरिनेछ, त्यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार रुपैयाँ प्रदान गरिने उहाँले बताउनुभयो ।

के भन्छन् कप्तानहरू ?


खेलाडीलाई खेलेको पैसा दिँदैछौः रुविना क्षेत्री, कप्तान मिलन क्रिकेट क्लब
नेपालमा महिला क्रिकेटको विकासका लागि सुदूरपश्चिमको कैलालीले देखाएको सक्रियता निकै सराहनीय छ । यसअघि हामीले प्रतियोगिता खेल्न सरकार तथा राष्ट्रिय खेलकुद परिषदको भर पर्नुपर्ने अवस्था थियो । सरकार र राखेपले प्रतियोगिता कहिले आयोजना गर्ला र हामी मैदानमा बल र ब्याट लिएर फर्कन जाउलाजस्तो लाग्थ्यो । तर, सरकारसँग निजी क्षेत्रले महिला क्रिकेटमा देखाएको सक्रियताले अब सरकार तथा राखेपको प्रतियोगिता कुर्नुपर्ने बाध्यता हटेको छ ।

यस प्रतियोगिताले निरन्तरता पाओस्। अनि, अन्य निजी क्षेत्रका संघसंस्था तथा क्लबहरूले पनि महिला क्रिकेटको विकासका लागि पहल गरिदिन अनुरोध गर्दछु । नेपाली पुरुष क्रिकेटलाई भने प्रायोजकहरुले पनि साथ दिइरहेका हुन्छन् तर यत्रो ठूलो महिला क्रिकेट आयोजना हुंदा समेत प्रयोजकहरुले नाक खुम्चाउनु अशोभनीय छ । महिला क्रिकेटको विकासका लागि प्रयोजकहरुको पनि साथ आवश्यक रहन्छ र विभिन्न कम्पनी र ब्राण्डहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत महिला क्रिकेट विकासमा सहयोग गर्नेछन् भन्ने मैले विश्वास लिएको छु ।

हाम्रो क्लबले पहिलो पटक खेलाडीलाई प्रतियोगिता खेलेको पारिश्रमिक उपलब्ध गराउँदैछ । स्वभवतस् यो नेपाली महिला क्रिकेटमा पहिलोपटक हो। हामीले राष्ट्रिय खेलाडीहरुलाई २० हजार रुपैयाँसम्म उपलब्ध गराउँदैछौं । त्यस्तै, हामीले टिममा तीन जना भारतीय खेलाडीहरु पनि भित्र्याउँदैछौं। ती खेलाडीहरु दिल्लीका हुनेछन् ।

बंगलादेश राष्ट्रिय टिमकी कप्तान र उपकप्तान ल्याउने प्रयास भइरहेको छः आरती विडारी, कप्तान राइजिङ क्रिकेट फर विमेन
अत्तरिया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको देशकै सबैभन्दा ठूलो प्रतियोगिता हो। हामीहरुले पनि महिला क्रिकेटको विकासका लागि राइजिङ क्रिकेट फर विमन खेलेर नै लागेका छौं। आयोजकले यत्रो ठूलो प्रतियोगिता आयोजना गरिदिँदा आफूहरुको अभियानलाई सहयोग पुगेको महसुस भएको छ ।
हामीले हाम्रो टिमबाट बंगलादेश टिमकी राष्ट्रिय कप्तान र उपकप्तानलाई ल्याउने प्रयत्न गरिरहेका छौं । व्यक्तिगत सम्बन्धका आधारमा उनीहरुसँग कुरा हुँदा उनीहरु प्रतियोगिता खेल्न आउने बताएका छन्। यदि यहाँको प्रतियोगितामा उनीहरुको कुनै पनि खेल जुधेन भने उनीहरुले आउने हामीले मैले विश्वास लिएको छु ।

त्यस्तै, मैले भारत अनि पाकिस्तानका खेलाडीहरुलाई प्रयास गरिरहेकी छु। उनीहरु आएमा आफ्नो व्यक्तिगत खर्चमा आउनेछन्। उनीहरु नेपाल आई नेपाली खेलाडीहरुसँग खेले भने मात्र पनि नेपाली खेलाडीहरुले धेरै सिक्ने मौका पाउने मैले विश्वास लिएकी छु ।

हाम्रा खेलाडीहरु उनै हुन्ः विना बुढामगर, कप्तान एपिएफ
प्रतियोगिताका लागि हामीले थप नयाँ खेलाडीहरु ल्याउने बारे केही सोच बनाएका छैनौं । हाम्रा खेलाडीहरु दैनिक निरन्तर अभ्यासमा छन् । अधिकांश राष्ट्रिय टोलीका खेलाडीहरु एपिएफमा आवद्ध भएका कारण सबै अनुभवी र फिट हुनुहुन्छ ।

राष्ट्रिय प्रतियोगितहरूमा पनि हामीले प्रभावशाली प्रदर्शन गर्दै आइरहेकाले अत्तरिया कपमा पनि हामीले त्यसलाई निरन्तरता दिनेछौं ।

हामीहरु खुसी छौः अञ्जली चन्द, कप्तान कैलाली जिल्ला क्रिकेट एकेडेमी
देशकै सर्वा्धिक ठूलो पुरस्कार राशीको महिला क्रिकेट प्रतियोगिता हाम्रै कैलालीमा हुनु खुसीको कुरो हो। यसले हामी महिला क्रिकेट खेलाडीहरुलाई खुसी तुल्याएको छ । हाम्रा लागि प्रतियोगिता घरेलु मैदानमा आयोजना भएजस्तै नै छ ।

त्यही भएर आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछौं। हामील टिममा दुई जना भारतीय खेलाडीहरु भित्र्याउने सोच बनाएका छौंं । कुरा पनि भइरहेको छ, त्यसबाहेक हाम्रा खेलाडीहरु नियमित अभ्यासमा छन् ।

आयोजकलाई धन्यवाद दिन चाहन्छौंः पुनम फर्सवाङ, उपकप्तान कञ्चनपुर –११
महिला क्रिकेटको विकासका लागि यति ठूला प्रतियोगिता आयोजना गर्न लागेकोमा हामी आयोजकलाई धन्यवाद दिन चाहन्छौं । हामी आफैं पनि सुदूरपश्चिमको भएकाले हाम्रो ठाउँमा ठूलो प्रतियोगिता आयोजना हुनु भनेको हाम्रा लागि पनि गौरवको कुरो हो।

प्रतियोगिताका लागि हाम्रो टिमले तयारी थालिसकेको छ । विभिन्न राष्ट्रिय टिमका सदस्यहरुले हाम्रो टिमबाट सहभागिता जनाउनेछन् । त्यसबाहेक आवश्यक परेको खण्डमा हामी भारतीय खेलाडीहरु पनि टिममा भित्र्याउनेछौं ।

घरेलु टोलीले नै विदेशी टोलीलाई प्रतिस्पर्धा दिन्छौंः बाराकी कप्तान मनिषा चौलागाईं
अन्य टिमले विदेशी खेलाडीहरु ल्याउने कुरा गरे पनि हाम्रो टिममा शुद्ध नेपाली घरेलु खेलाडीहरु नै छन् । हामी घरेलु खेलाडीहरुबाटै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई चुनौती दिनेछौं।

हाम्रा खेलाडीहरु नियमित अभ्यासमा पनि छन् र उनीहरुले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास पनि मलाई छ ।
अत्तरिया कपले हामीलाई ठूलो प्लेटफर्म दिएको छ । त्यस प्लेटफर्मको हामीले पूर्ण सदुपयोग गर्नेछौ । –शुभ दिनबाट….

तपाईको प्रतिक्रिया