मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

भारतले नेपालीसँग रहेको एक हजार र ५ सय दरका ४५ सय नोट मात्रै साट्न सकिने बताएको छ । आज बिहान राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा बसेको बैठकमा भारतीय टोलीले आफ्नो निर्णय सुनाउँदै यस्तो बताएको हो । नेपाल राष्ट्र बैंकका अधिकारीहरुले भारतको यो भनाइमा असहमति जनाएपछि द्विपक्षीय बैठक निष्कर्षविहीन भएको छ ।

बैठकमा रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को टोलिले ४५ सयसम्म मात्रै साट्ने निर्णय गरेको राष्ट्र बैंकका अधिकारीहरुलाई जानकारी गराएको छ । भारतीय टोलिले ४५ सयसम्म मात्रै साटिदिने बताएको बिदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भिष्मराज ढुङ्गानाले बताउनुभयो । उहाका अनुसार नेपाली पक्षले २५ हजारसम्म साटिनुपर्ने अडान राखेको थियो । आरबीआईको टोलिले सुनाएको निर्णयमा राष्ट्र बैंक प्रतिनिधिहरुले चित्त नबुझाएपछि बैठक निष्कर्षबिहीन बनेको छ ।

राष्ट्र बैंकले आरबीआईका प्रतिनिधीलाई भारतका उच्च अधिकारीहरुसँग कुराकानी गरेर साट्ने रकम बढाउन आग्रह गरेको छ । राष्ट्र बैंक प्रतिनिधिहरुले उच्च अधिकारीहरुसँग २५ हजारसम्म सीमा बढाउने विषयमा कुरा भएको भन्दै विभाग प्रमुख ढुङ्गानाले थप छलफलका लागी भोलि ९ बजे पुनः बैंठक बस्ने जानकारी दिनुभयो ।

कालोधन निर्मूल गर्ने भन्दै नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारले आकस्मिक रुपमा गत कात्तिक २३ गते राति १२ बजे ५ सय र १ हजार दरका भारु नोटको कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले भने मंसिर २४ गते यसको सटहीमा रोक लगाएको थियो । नेपाल र भारतको यो निर्णयबाट भारु नोट भएका नेपालीहरु प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया