शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपालले टेस्ट खेल्ने राष्ट्र पाकिस्तानको सामना गर्दै एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताको सोमबार उद्घाटन गर्ने भएको छ । बङ्गलादेशको शेखकमल स्टेडियममा हुने खेलमा नेपालले पाकिस्तानका तेइस वर्षमुनि (यु–२३) उमेर समूहको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

टोलीमा कप्तानको जिम्मेवारी नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले पाएका छन् ।

नेपालको प्रतिनिधित्व गर्दै मल्लले पहिलो पटक नियमित कप्तानको भूमिका निर्वाह गर्न लागेका हुन् । उनले यसअघि घरेलु मैदानमा गत फागुन महिनामा भएको आइसिसी विश्व लिग क्रिकेट प्रतियोगताअन्तर्गत केन्याविरुद्धको खेलमा कप्तानको भूमिका निर्वाह गरेका थिए ।

नेपालका कप्तान पारस खड्का स्वास्थ्यमा समस्या आएका कारण टोलीमा समावेश छैनन् । त्यसैगरी शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामी प्रतियोगितामा सहभागी छैनन् भने फास्ट बलर करण केसी पनि स्वास्थ्य समस्याका कारण आराम लिनुभएको छ । वरिष्ठ खेलाडीलाई आराम दिएका कारण यस पटक तीन नयाँ खेलाडी आशिफ शेख, दिलीप नाथ र दीपेश श्रेष्ठले पहिलो पटक खेल्न लागेका हुन् ।

खेल तालिकानुसार नेपाल समूह ‘बी’ मा छ । सोही समूहमा आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङ छन् । त्यस्तै समूह ‘ए’ मा भने भारत, श्रीलङ्का, अफगानिस्तान र मलेसिया छन् । उक्त प्रतियोगिता करिब चार वर्षपछि हुन लागेको हो । यसअघि सन् २०१३(विसं २०६९-७०) मा सिङ्गापुरमा भएको थियो । यही चैत १२ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता चैत २२ सम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया