शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – एमालेले गाउँ, नगर, उपमहानगरको वडाध्यक्ष र सदस्य गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले छान्ने तयारी गरेको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुखको सिफारिस सम्बन्धित कमिटी तथा जिल्ला कमिटीको सुझाबमा प्रदेश संगठन कमिटीले छान्ने निर्णय गरेको सचिव तथा संगठन विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले बताउनुभयो ।

उपमहानगर र महानगरको मेयर केन्द्रले छान्ने : स्थायी समितिले उपमहानगरपालिका र महानगरपालिकाको मेयर र उपमेयर भने पार्टी केन्द्रीय कमिटीले छान्ने निर्णय गरेको छ । ‘जिल्ला कमिटीको सिफारिस र प्रदेशसमेतको राय लिएर केन्द्रीय कमिटीको निर्णयमा महानगर र उपमहानगरको मेयर र उपमेयर छानिनेछन्,’ सचिव तथा संगठन विभागका प्रमुख गुरुङले भन्नुभयो ।

स्थानीय आवश्यकताअनुसार चुनावी तालमेलको योजना : एमाले स्थायी समितिले केन्द्रको प्रत्यक्ष निर्देशनमा निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने नीति र योजना पारित गरेको छ । ‘सम्बन्धित स्थानको राजनीतिक शक्ति सन्तुलन, पार्टीको सामथ्र्य र सम्भाव्य परिणामलाई ध्यान दिँदै अन्य राजनीतिक दलसँग आवश्यकताअनुसार तालमेल र समन्वयको पहल गर्नेछ । तर, त्यसका लागि केन्द्रको निर्देशन पालना गर्नुपर्नेछ,’ एमालेको चुनावी तालमेलसम्बन्धी नीति र योजनामा भनिएको छ ।

बागी उठ्नेलाई आजीवन कारबाही : एमालेले पार्टी निर्णयलाई चुनौती दिएर बागी उम्मेदवार बन्नेमाथि कडाइका साथ अनुशासनको कारबाही गर्ने नीतिसमेत पारित गरेको छ । पार्टीले निर्णय गरेको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने, प्रस्तावक र समर्थक बस्नेलाई पार्टीको आन्तरिक निर्वाचन र सार्वजनिक प्रकृतिका निर्वाचनमा भाग लिन नपाउने गरी कारबाही गर्ने नीति पारित गरिएको सचिव गुरुङले बताउनुभयो ।  त्यस्ता व्यक्तिलाई सम्बन्धित कमिटीका साथै आवश्यकताअनुसार केन्द्रीय कमिटीले तत्काल कारबाही गरी पाँच वर्षसम्म पार्टी सदस्यबाटै निलम्बन गर्नेछ भने आजीवन पार्टीको आन्तरिक र सार्वजनिक चुनावमा उठ्न दिइनेछैन ।

मूल नारा र निर्वाचन घोषणापत्रको गृहकार्य : एमालेले मूल नारा र निर्वाचनको घोषणापत्रको तयारीलाई पनि तीव्रता दिइरहेको प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभयो । ‘नयाँ पुनर्संरचनाअनुसार पार्टी कमिटी पुनर्गठन गर्न सर्कुलर पठाइसकिएको छ, स्थायी समितिले निर्वाचन घोषणापत्र पनि गृहकार्य गरिरहेको छ,’ रिजालले भन्नुभयो, ‘केही दिनमै मूल नारा र घोषणापत्र पनि सार्वजनिक गर्छौँ ।’ मेची–महाकाली अभियानमार्फत चुनावी घोषणापत्र र उम्मेदवार छनोटको गृहकार्यबारे समेत सुझाब लिएको एमालेले सातवटै प्रदेश संगठन कमिटीलाई पनि घोषणापत्रका लागि सुझाब पठाउन निर्देशन दिइसकेको छ ।

केन्द्रमा परिचालन समिति, गाउँ–नगरमा मतदाता शिक्षा : एमालेले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा निर्वाचन परिचालन कमिटी बनाएर चुनावी अभियानलाई तीव्रता दिन मतदाता शिक्षा अभियान चलाउने तयारी गरेको छ । कतिपय प्रदेश कमिटी र जिल्ला कमिटीले निर्वाचन परिचालन कमिटी नै बनाएर अभियान सुरु गरिसकेको महासचिव पोखरेलले जानकारी दिनुभयो । त्यस्तै, आर्थिक परिचालन, धाँधली रोक्न स्वयंसेवक, मतदाता परिचयपत्र अद्यावधिक, निर्वाचन आचारसंहिता पालनका सम्बन्धमा निर्वाचन आयोग र प्रशासनसँग समन्वयका लागि आवश्यकताअनुसार उपसमितिहरू पनि बनाइने जनाइएको छ ।

आज स्थायी समिति बैठक : एमालेले चुनावी तयारीकै सिलसिलामा आइतबार (आज) स्थायी समिति बैठक बोलाएको छ । निर्वाचन घोषणापत्रलगायतका विषयमा थप छलफलका लागि बैठक बोलाइएको एमालेले जनाएको छ । ‘छुट्टै टिममार्फत घोषणापत्रलाई केही दिनमा अन्तिम रूप दिन्छौँ,’ महासचिव पोखरेलले भन्नुभयो ।

उम्मेदवार छान्न सातबुँदे मापदण्ड
-वरिष्ठता, पार्टीप्रति प्रतिबद्ध, निष्ठावान् र अनुशासित
-असल आचरणयुक्त र भ्रष्टाचार, नैतिक पतन देखिने काममा संलग्न नभएको र सार्वजनिक प्रतिष्ठामा आँच पुग्ने काममा संलग्न नभएको
-जनतामाझ परिचित र लोकप्रिय
-जनसेवी, घुलमिल, सामाजिक सेवाका काममा सकारात्मक भूमिका खेल्न सक्ने
-निर्वाचनमा विजयका लागि सर्वाधिक अनुकूल व्यक्ति
-स्थानीय विकासमा रुचि राख्ने र सही दृष्टिकोण प्रस्तुत गर्न सक्ने
-समावेशितालाई ध्यानमा राख्ने

उम्मेदवार छान्न माओवादी केन्द्रको धमाधम बैठक : माओवादी केन्द्रले आगामी स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाएको छ । उम्मेदवार छनोटदेखि चुनावी घोषणापत्र तयार पार्नेसम्मका आन्तरिक तयारी माओवादीले अन्तिम तहमा पुर्याइएको छ । ‘युद्धस्तरमा चुनावी तयारीमा सिंगो पार्टी होमिएको छ,’ माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भन्नुभयो । माओवादीले स्थानीय तहको नयाँ संरचनाअनुसार पार्टी कमिटीहरू गठन गर्न वडा, गाउँ, नगर, उपमहानगर तथा महानगरका सम्मेलन गर्दै चुनावी तयारी तीव्र बनाएको प्रवक्ता भुसालले बताउनुभयो ।

प्रतिबद्धता (घोषणा)पत्र तयार : माओवादी नेताद्वय देव गुरुङ र वर्षमान पुनले स्थानीय तह चुनावका लागि पार्टीका तर्फबाट चुनावी प्रतिबद्धतापत्र केन्द्रीय तहमा तयार पारेका छन् । केन्द्रीय कार्यालयले उक्त प्रतिबद्धतापत्रलाई पारित गरेर सुझाबका लागि सातवटै प्रदेशमा आन्तरिक रूपमा सर्कुलर गरिएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव प्रह्लाद बुढाथोकीले जानकारी दिनुभयो ।

‘केन्द्रीय तहमा चुनावका लागि प्रतिबद्धतापत्र तयार भइसकेको छ, स्थानीयस्तरमा त्यहाँका सापेक्षतामा थप केही बुँदा राखेर पनि तयार पार्न सकिने बनाइएको छ,’ बुढाथोकीले भन्नुभयो, ‘आन्तरिक रूपमा पठाइएको प्रतिबद्धतापत्रमा आन्तरिक सुझाब आएपछि केही सुधार गरी एक–दुई दिनभित्रै अन्तिम फाइनल गरेर सार्वजनिक गर्छौँ ।’ माओवादी केन्द्रले घोषणापत्रमा स्थानीय तहको गठनलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्दै जनतालाई अधिकार सम्पन्न गर्ने र स्थानीय तहमै जनतालाई आफ्नो सत्ता आफैँले हस्तान्तरण गर्ने कामलाई उपलब्धिका रूपमा लिनुपर्ने उल्लेख गरेको छ ।

निर्वाचन परिचालन समिति गठन : माओवादीले केन्द्रमा केन्द्रीय निर्वाचन परिचालन समिति र जिल्ला, महानगर, उपमहानगर, नगर र गाउँपालिका तहसम्म स्थानीय निर्वाचन परिचालन समिति बनाइसकेको छ । गत २३ फागुनमा बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले केन्द्रमा नेता देव गुरुङको नेतृत्वमा १३ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोपाल किराती, विश्वनाथ साह, हितमान शाक्य, शक्ति बस्नेत, लेखराज भट्ट र विश्वभक्त दुलाललगायतका नेताहरू सदस्य छन् । उक्त समितिले निर्वाचन कार्यविधि, निर्देशिका, चुनावी प्रतिबद्धतापत्रको मस्यौदा तयार पारेर केन्द्रीय कार्यालयमा पेस गरेको थियो । त्यसलाई केन्द्रीय कार्यालयले पारित गरेर आन्तरिक रूपमा तल्ला निकायमा पठाइसकिएको मुख्यसचिव बुढाथोकीले बताउनुभयो ।

चैतभित्रै सबै उम्मेदवार छानिसक्ने : माओवादी केन्द्रले उम्मेदवारका लागि कार्यविधि तय गरी तल्लो समितिसम्म पठाइसकेको छ । ३१ वैशाखका लागि घोषित स्थानीय तह चुनावका लागि १६ वैशाखमा दलहरूले उम्मेदवारी दर्ता गराउनुपर्नेछ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि १६ वैशाखको दिन तोकेको छ । ‘निर्वाचन कार्यविधि र निर्देशिका तलसम्म पुगिसकेको छ, सोहीअनुसार, उम्मेदवार छनोट प्रक्रियाका लागि तयारी बैठकहरू अहिले धमाधम बसिरहेका छन्,’ मुख्यसचिव बुढाथोकीले भने, ‘ढिलोमा चैत मसान्तसम्म हाम्रा सबै उम्मेदवारहरू छनोट भइसक्नेछन् ।’

उम्मेदवार छान्न कार्यविधि : माओवादीले स्थानीय तहका वडादेखि प्रमुखसम्मका उम्मेदवार छनोटका लागि आन्तरिक रूपमा सम्बन्धित पार्टी कमिटीले तीनजनाको दरले सिफारिस गर्ने, सो कमिटीभन्दा माथिल्लो निकायले अनुमोदन गर्ने र त्यसमभन्दा माथिको निकायले स्वीकृति दिएपछि मात्र उम्मेदवार चयन हुने गरी कार्यविधि बनाएको छ । यसो हुँदा गाउँ तथा नगरपालिकाको प्रमुखका लागि प्रदेशको स्वीकृति अनिवार्य हुनुपर्ने, उपमहानगरपालिकाका लागि पनि प्रदेशकै स्वीकृति चाहिने तथा महानगरपालिका मेयरका लागि भने पार्टी केन्द्रले नै उम्मेदवारको अन्तिम टुंगो लगाउने गरी कार्यविधि बनाएको छ ।

नेताहरूको दौडधुप तीव्र : चुनाव लक्षित गर्दै माओवादीले स्थानीय स्तरमा चुनावी सभा तथा आमसभा गर्नेलगायतका काम सुरु गरेको छ । स्थानीय तहमा हुने चुनावी कार्यक्रममा पार्टी केन्द्रका नेताहरू नै परिचालित भएका छन् । सुर्खेतमा शुक्रबार भएको जनसभामा माओवादी केन्द्रका नेता रामबहादुर थापा, शक्ति बस्नेतलगायतका नेताहरूले सम्बोधन गरेका थिए । उनी शनिबार सल्यान पुगेका थिए । नेता थापा एक साताका लागि जिल्ला दौडाहमा निस्किएका छन् ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा पनि काठमाडौं बाहिर छन् । वर्षमान पुन आफ्नै जिम्मेवारीमा रहेको ५ नम्बर प्रदेशमा खटिरहेका छन् । स्थानीय तहको नयाँ संरचनाअनुसार पार्टीका आन्तरिक संगठनहरू निर्माण गर्दै चुनावी तयारीका लागि माओवादी नेताहरू देशव्यापी रूपमा गाउँ तथा नगरसम्म कार्यक्रम लिएर झरेका छन् । लीलामणि पोखरेल, मणि थापालगायतका नेताहरू प्युठान पुगेका छन् ।

तपाईको प्रतिक्रिया