बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

 

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच आज भएको भेटवार्तामा दुई देशबीच आर्थिक विकास तथा समृद्धि, द्विपक्षीय विकासका आयाम र सुरक्षा प्रबन्धका विषय अझ राम्रो बनाएर लैजाने विषयमा सहमति भएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीच सडकको सञ्जालको विकासमार्फत आबद्धता बढाउने तथा सुरक्षा निकायको क्षमता अभिवृद्धि विषयमा छलफल केन्द्रित भएको गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले जानकारी दिनुभयो ।

सुरक्षा प्रबन्ध मिलाउँदा सीमावर्ती क्षेत्रमा आवश्यक पर्ने सूचना दुई देशबीच आदानप्रदान गर्ने तथा चीन सरकारको सहयोगमा निर्माणाधीन सशस्त्र प्रहरी बलको तालिम केन्द्रलाई आवश्यक पर्ने थप स्रोत, सामग्री र ज्ञानका लागि चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो । तातोपानी नाकालाई खोल्न नेपालले चीन सरकारसँग निरन्तर आग्रह गरिरहेको र आजको भेटमा समेत सो विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणमा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका जनरल चाङ बिहीबार नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँले आजै राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले प्रधानमन्त्री र रक्षामन्त्रीसँग बिहीबार भेटवार्ता गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया