बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला ट्रेड युनियन अवार्डले आज यहाँ आयोजना गरेको सम्मान वितरण समारोहमा डा कोइरालाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिनुभयो ।  डा कोइरालाले काँग्रेस पार्टीले स्थापनाकालदेखि नै श्रमिकको हक र हितका लागि काम गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “काँग्रेसको जन्म नै मजदुर आन्दोलनको जगमा भएको हो ।”

नेपाल ट्रेड युनियनका नेता एवम् सांसद पुष्कर आचार्यले मजदुर आन्दोलनका कारण मुलुकमा संविधान निर्माण भएकाले तिनका समस्यालाई राज्यले बेवास्ता गर्न नहुने बताउनुभयो । नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपमहासचिव आशासिंह राठौरले ट्रेड युनियनमा लागेका व्यक्तिलाई सम्मानले ठूलो प्रोत्साहन मिल्ने बताउनुभयो । कार्यक्रममा जिपी कोइराला लेबर फाउन्डेसनका अध्यक्ष शिशिरकुमार झा, नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराई, इम्ब्रोडरी तथा सिलाइबुनाइ सङ्घका अध्यक्ष तेजप्रकाश रिजाललगायतले श्रमिकका लागि राज्यले छुट्टै आयोग गठन गर्नुपर्नेमा जोड दिनुभयोे ।

ट्रेड युनियन अवार्ड केसीलाई
गिरिजाप्रसाद कोइराला ट्रेड युनियन अवार्ड नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घका केन्द्रीय सदस्य सुरथबहादुर केसीलाई प्रदान गरिएको छ । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घको स्थापनाकालदेखि श्रमिकको हकहितका लागि विशेष योगदान पुु¥याएको भन्दै उहाँलाई रु १० हजार २५ सहित प्रमाणपत्र प्रदान गरिएको हो । ट्रेड युनियनकर्मी सूर्य नेपाल, मीरा निरौला र नेपाली काँग्रेसकी नेत्रीसुजाता कोइरालाको सक्रियतामा विसं २०७१ देखि अवार्ड स्थापना गरी प्रत्येक वर्ष वितरण गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया