शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – अद्भूत क्षमताका धनी भारतमा गुगल ब्वाइ भनेर चिनिने कौटिल्य पंडित बिहीबार नेपाल आउने भएका छन् ।
हाइल्यान्ड इन्टरटेन्टमेन्टले उनलाई नेपाल ल्याउन लागेको हो । उनले शनिबार राजधानीको सभागृहमा आफ्नो प्रतिभा देखाउने छन् । कौटिल्य भर्खर नौ बर्षका भए । उनको स्मरणशक्ति बेजोडको छ । अरु बालकझैं खेल्ने उमेरका कौटिल्य भने विश्वमा आफ्नो अद्भूत क्षमताका कारण चर्चित छन् । उनलाई विश्वका अधिकांश कुराको ज्ञान छ ।
उनी आफ्नो देशको बारेमा, अन्तरिक्षको बारेमा र यस संसारमा भएका सबै चीजबारे जानकारी राख्छन् । उनलाई ल्याएर प्रस्तुत गरिने कार्यक्रमबाट नेपालले धेरै चीजको लाभ लिन सक्ने आयोजक हाइल्यान्ड इन्टरटेनमेन्टका अध्यक्ष सुदर्शन गैरापिप्लेले बताउनु भयो । नेपाललाई विश्वसामु चिनाउन कौटिल्यबाट ठूलो टेवा पुग्ने उहाँको दावी छ ।
उनी बिहीबार नै राजधानी आइ पुग्नेछन् । उनले भोली पशुपतिनाथको पूजा आराधना गर्नेछन् । कौटिल्यलाई उनको प्रतिभाको कदर गर्दै भारतको हरियाणा सरकारले १० लाख रुपैयाँको पुरस्कार दिएको थियो ।
उनलाई पूर्वमुख्य मन्त्री भुपेन्दरसिंह हूडाले उक्त पुरस्कार प्रदान गरेका थिए । त्यतिखेर उनलाई दिइएको प्रमाणपत्रमा भएको गल्ती कौटिल्यले औंल्याएका थिए । काशी विद्वान परिषदले उनलाई बाल मनिषीको पदवी दिएको थियो । उनी ५ बर्षको उमेरमै भारतीय नायक अमिताभ बच्चनले संचालन गरेको कौन बनेगा करोडपतिमा सहभागी हुने अबसर पाएका थिए ।

तपाईको प्रतिक्रिया