शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

डडेल्धुरा – आमा र बच्चाको स्वास्थ्य सुधारमा ‘सुआहारा’ कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको एक तालिमका सहभागितारुले बताएका छन । सुआहारा कार्यक्रम अन्तरगत गठीत ग्रामीण नमुना कृषक समूहमा आवद्ध कृषकहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले आयोजना गरेको बचत ऋण तथा समूह व्यवस्थापन सम्बन्धि ५ दिने तालिमका सहभागिहरुले सो कुरा बताएका हुन् ।

यस अवधिमा आमा र बच्चालाई आवश्यक पोषणयुक्त बनाउन परियोजनाले महत्वपूर्ण भूमिका खेलेको स्थानीयको भनाई छ । सुआहाराले ग्रामीण नमूना कृषक समूहरुको आर्थिक व्यवस्थापन गर्नेबारे तालिममा जानकारी गराएको थियो । समूहमा बचत कसरी गर्ने, ऋण प्रवाह तथा समूह व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जानकारी गराईएको आयोजकले जनाएको छ । समूह तथा समूहमा आवद्ध ग्रामीण नमूना कुषकको आर्थिक स्तर सुधार गर्नमा तालिमले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।

सुआहाराले पोषणयुक्त खाद्यान्न उत्पादन, कुखुरापालन, अण्डा उत्पादन लगायतका कुराहरुमा विशेष जोड दिएको छ । उत्पादन गरिएका खाद्यान्न, कुखुरा र अण्डा खाने तथा बढी भएको विक्री गरि आम्दानी बढाउने तरिका सुआहाराले प्रदान गरेको ग्रामीण नमूना कृषक बिर्मा भट्राईले बताईन । सुआहारा अन्तरगत आवद्ध सबैको आर्थिक स्तर सुधार हुदैँ गएको उनको भनाई थियो । विस्तारै यहाँका महिला तथा बालबालिकामा कुपोषण हट्दै गएको सहभागीहरुको भनाई थियो ।

५ दिने तालिमको बुधबार एक कार्यक्रमका बिच समापन गरिएको छ । तालिममा डडेल्धुरा जिल्लाका अशिग्राम, बेलापुर, कैलपालमाण्डौ, अमरगडी, अजयमेरु, समैची लगायतका गाविसबाट २० जना ग्रामीण नमूना कृषकहरुको सहभागीता रहेको थियो । यूएसएआईडीको आर्थिक स्रोतमा सञ्चालीत उक्त परियोजना अन्तरगत सुआहारा २ जिल्ला कार्यालय डडेल्धुराले तालिमको आयोजना गरेको थियो । तालिममा खेम मिश्र र अर्जुन बनले प्रशिक्षण दिएका थिए । तालिम समापनमा प्रशिक्षकहरुले सहभागीहरुलाई तालिममा सिकेका विषयलाई व्यवहारमा प्रयोगमा ल्याउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

महिला गर्भवती भएदेखि बच्चा जन्मिएको दुई बर्षसम्मको अवधिभरीका आमा र बच्चालाई पोषणयुक्त बनाउने उदेश्यले नेपालका ४० जिल्लामा उक्त परियोजना सञ्चालनमा छ । परियोजनाले गर्भवती भएदेखि बच्चा जन्मेको दुई बर्षको अवधिलाई सुनौला हजार दिनका रुपमा लिएको छ ।

तपाईको प्रतिक्रिया