संसदमा कम सिट भएका दलहरुसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं – सीमांकन हेरफेरको बिषयलाई थाँती राख्दै संविधान संशोधन विधेयक अगाडि बढाउने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा प्रतिनिधित्व गर्ने कम सिट भएका दलहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

प्रमुख प्रतिपक्षी एमालेको असहमतिका कारण विधेयक पारित हुन सम्भावना कम भएपछि प्रधानमन्त्री दाहालले संसदमा रहेका साना दललाई सहमतिमा ल्याउने पहल थाल्नु भएको हो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिदै मधेसी मोर्चाले सीमांकनको बिषयलाई बटमलाईन बनाएपछि प्रधानमन्त्री दाहालले विधेयक पारितका लागि आवश्यक मत पुर्‍याउने पहल थाल्नु भएको हो ।

राजधानीको वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्ह ४ बजे बस्ने बैठकमा सत्तारुढ समाजवादी जनता पार्टी सहितका दललाई बोलाइएको छ । प्रधानमन्त्री दाहालले हिजो मात्र सरकारमा रहेका प्रमुख दलहरुसँग दुई चरणमा छलफल गर्नुभएको थियो ।

पर्सि बिहीवारबाट सुरु हुने आफ्नो चीन भ्रमण अगावै प्रधानमन्त्री दाहालले राजनीतिक निकासका लागि पहल तिब्र बनाउनुभएको उहाँका सहयोगीले बताएका छन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित