आईजीपी नियुक्ति प्रकरणः बहस सकियो

‘सर्वोच्चले भोलि फैसला सुनाउने’

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणबारे सर्वोच्च अदालतमा बहस सकिएको छ । बहस सकिएपनि आईजीपी नियुक्ति विवादबारेको अन्तिम फैसला भने सर्वोच्चले भोलि मात्रै सुनाउने भएको हो ।

आईजीपी नियुक्तिबारे परेको रिटमा आज सरकार पक्षका वकिलहरुले बहस गरेका थिए । सरकार पक्षका वकिलहरुले बहस गरेपछि रिट निवेदक डिआईजी नवराज सिलवाल पक्षका कानुन व्यवसायीहरुले जवाफ दिएसँगै सम्पूर्ण कानुनी प्रक्रिया सकिएपनि सर्वोच्चले फैसला भने भोलिमात्रै सुनाउने भएको हो । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा भएको बहसमा डीआईजी जयबहादुर चन्द पक्षका वकिलले बहस गरेनन् । आज सरकारी वकिलको तर्फबाट दुई उपमहान्यायाधिवत्ता टीकेन्द्र दाहाल र रेवती त्रिपाठीले बहस गर्नुभयो ।

चन्द पक्षका वकिलहरु अनुपस्थित भएपछि माइकिङ गरेर नाम बोलाइएको थियो । तर, सुशील पन्त, प्रेमबहादुर खड्का, महादेव यादव, सतिश खरेल लगायत वरिष्ठ अधिवक्ताहरु जानु भएन । रिट निवेदन कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालका वकिलले आइतबार नै बहस गरेका थिए । सिलवालका तर्फबाट बद्रीबहादुर कार्की, तुलसी भट्ट, भीमार्जुन आचार्य र टिकाराम भट्टराईले बहस गर्नु भएको थियो ।

चन्दलाई आईजीपी रोक्न माग राखेर सरकारको निर्णय पूर्व अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिटमा गत फागुन १ गते प्रधानन्यायाधीश कार्कीको एकल इजलासबाट निर्णय रोक्न अन्तरिम आदेश भएको थियो । त्यस्तै डीआईजी नवराज सिलवालले दायर गरेको अर्को रिटमा कार्कीकै इजलासबाट अर्को अन्तरिम आदेश भएको थियो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित