शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरु हुँदैछ । शनिबार, आइतबार र सोमबार भोजपुर, इलाम, धनकुटा, तेहथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत दैलेख, बैतडी, डडेल्धुरा, डोटी ,कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्जुलामा औषधी खुवाइनेछ ।

यस्तै आउँदो १७ गतेदेखि १९ गतेसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा औषधी खुवाइने सरकारले  जनाएको छ । दुई चरणमा खुवाइने हात्तीपाइले रोग विरुद्धको औषधी ढुक्क भएर खान सरकारले आग्रह गरेको छ । हात्तीपाइले रोग विरुद्धको औषधी खान धेरैजनाले आनाकानी गर्ने गरेको पाइएपछि स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

तर यो औषधी दुई वर्ष नपुगेका केटाकेटी, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीले भने खान नहुने मन्त्रालयले जनाएको छ । अरु व्यक्तिले खानासँगै वा खानापछि यो औषधी खान सक्छन् ।

स्वास्थ्यकर्मी वा घर घरमा औषधी खुवाउन पुगेका स्वास्थ्यकर्मीसँग आफ्नो स्वास्थ्यका बारेमा जानकारी गराएर औषधी खान हुने नहुने बारे जानकारी लिन पनि मन्त्रालयले आग्रह गरेको छ । हात्तीपाइले रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले टोक्दा लाग्ने गर्दछ ।

हात्तीपाइले शारीरिक अशक्त र अपांग बनाउने सरुवा रोग हो ।

तपाईको प्रतिक्रिया