समयलाई शिक्षिकाको चिठी

समय, हिजो जस्तै लाग्छ शिक्षण पेशामा आवद्ध भएको । ज्ञानका भोका बालबालिकासँग रमाउंदा रमाउंदै अठार वसन्त पार भएको पत्तै भएनछ । अठार वसन्तमा ज्ञानको ज्योति लिँदै, आफ्नो भाग्य रेखा कोर्दै कोही समुन्द्र पारिको देशमा पुगे, कोही मातृभूमिकै डाँडाकाँडा, हिमाल, पहाड र तराई गर्दै–रमाउंदै होलान् । ती प्यारा विद्यार्थीहरू यदाकदा भेट हुँदा, सामाजिक सञ्जालमा लाइक र कमेन्ट गर्न पाउँदा जति गर्व लाग्छ त्यति नै हाल विद्यालयमा शिक्षा हाँसिल गर्दै गरेका बालबालिकाहरुको भविष्य प्रति सोच मग्न हुन्छु ।
समय, तिमी स्वयम् बदलिरहन्छौ ।

निरन्तर अनेक रूपमा आईरहन्छौ तिमी । समाजको आवश्यकता दिन–प्रतिदिन बढ्दै गएको छ, अर्थात् समाजको आकांक्षा ठुलो हुँदै गएकोछ । कल्पन्छु– यो सबै कसरी थेग्ने हो ? म मा प्रश्न चिन्ह खडा हुन्छ । हामीले विद्यालयमा अध्ययन गर्दा हाम्रा आमाबाबुका दुःख त एकातिर थिए नै तैपनि उनीहरुका सपनाहरुप्रति थोरै–धेरै स्वयम् पनि सन्तुष्ट थियौँ र उनीहरु पनि सन्तुष्ट थिए होलान् ।

जग्गा–जमिन र खेतबारीको अन्न बेचेर, एक छाक मात्रै खाएर र एकै सरो लगाएर भएपनि हामी पढ्यौँ । मन दह्रो गरेर हाम्रा अभिभवकले हामीलाई विद्यालय पठाए । २, ३ घण्टा दैनिक हिड्यौँ पढ्नका लागि । बारीमा मलको डोको र घरमा मकैको भारी बिसाएर विद्यालय पुग्थ्यौँ हामी ।
सयम, संयोग भनौं या विडम्बना । आज ती हाम्रा खेतबारी बाटो भएका छन् ।

रुखहरु  सुकेका छन् । खोलानालाहरुमा सेता ढुङ्गाहरु टल्किएका छन् । दुई चार अक्षर पढेका हामी कुटो–कोदालो र डोका–नाम्लोलाई पर पन्छाएर अभिभावकका सपना पूरा गर्न हातमा मोबाइल, टाउकोमा हेडफोन र कानमा इएर फोन भिरेर सहरका गल्लीहरुमा भौतारिरहेका छौँ ।
समय, सायद तिम्रो पनि साक्षत्कार भयो होला तिनीहरुसीत, जो भोको पेटलाई आधुनिक पहिरनले लुकाउन मात्रै खोज्दैछन् ।

उनीहरु उच्छृंखल संस्कृति र भेषभूषाको नक्कलसितै ठांटिन मात्रै व्यस्त छन् । यसरी नै जिम्मेवारी र कर्तव्यबाट उनीहरु पर पुग्नेहुन कि ? मलाई मेरा विद्यार्थीको भविष्य प्रति चिन्ता लाग्दैछ । देशको मुटु; राजधानीमा सरकारी विद्यालयमा अध्यापन पाउनु म अहोभाग्य ठान्दैछु आफ्नो लागि । यहाँ अध्ययनरत विद्यार्थीहरुलाई लगनशील, मेहनति, कर्तव्यनिष्ठ र प्रतिभाशाली बन्न प्रोत्साहन दिदै पढाइप्रति उनीहरुको ध्यान आकृष्ट गराउँदै आएकी छु ।

धेरै वसन्त बदलिए तर हरेकका दुखःपीडा भने उस्तै छन् । सुन्दर भविष्यको परिकल्पना र तुरुन्तै केही पाउने आशाका साथ जब उनीहरूको दृष्टि म तिर पर्छ तब मलाई पीडा र छटपटी हुन्छ । समय, बढ्दो जनसङ्ख्या, अभाव र अनिकाल, बेरोजगारी तथा वातावरण प्रदुशणमा रुमल्लिएका आजका बालबालिकाहरु भोली आफ्नो खुट्टामा आफै उभिन सक्लान ? आमाबाबु र समाजको मुहार हँसिलो बनाउन सक्लान ? अनि मुलुकको आवश्यकता अनुरुप नौलो पुस्तालाई उचित शिक्षा प्रदान गर्न सक्लान ?
नेपालः शान्ति क्षेत्र । बुद्ध जन्मिएको भूमी । तर, के हमीले नेपालमा भएका परिवर्तनहरुलाई सहि रुपमा बुझ्न नसकेका हौँ, कि बुझाउन नसकेका ? महंगी दैनिकजसो बढ्दैछ । अभाव पनि उस्तै बढेको छ । सामाजिमा मैलाउदो विकृति र कुसंस्कार सँग हुर्केका यी बालबालिकाहरुको भोलीको चित्र के हो ? प्रश्नै प्रश्नले घोचिरहेछन् रातदिन ।
समय, मैले मलाई नै चिन्न सकिरहेकी छैन । आफैले आफैलाई पनि बुझ्न सकिरहेकी छैन । त्यसैले मलाई तिम्रो साथ चाहिएको छ । तिम्रो भरोसा चाहिएको छ ।

म मेरा बालबालिकालाई उज्ज्वल भविष्यको शिखरमा पुर्याउन चाहान्छु । उनीहरुलाई देशका सक्षम नागरिक बनाउन चाहान्छु । तिनीहरुले आफ्ना अभिभावक, आफ्नो समाज र राष्ट्रको मुहार हँसाउन सकून भन्ने मेरो भित्री इच्छा छ । समय, तिमी मलाई सधैं साथ देऊ । ताकी म उनीहरुलाई सदा आँट र साहस दिन सकूँ । कुनै बाधा–व्यवधान बिनानै उनीहरुलाई गन्तव्यमा पुर्याउन सकूँ ।

तिम्रो साथको म पूर्ण सदुपयोग गर्नेछु । आज उनीहरुको र भोली उनीहरुको सन्ततीको मुहार हँसिलो बनाउने छु । आजका बालबालिका भोलीका होनाहार युवा तयार गर्नेछु । तसर्थ तिम्रो साथ र सहयोगको सदा अपेक्षा राख्दै अहिलेलाई बिट मार्छु, बाँकी अर्को पत्रमा ।

शिक्षिका, नन्दि रात्री मावी, नक्साल, काठमाडाैँ 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित