शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – शङ्कर लामिछाने प्रतिष्ठानले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई यही चैत ५ गते अभिनन्दन गर्ने भएको छ । दीक्षितले नेपाली भाषा, साहित्यको समुन्नतिमा ठूलो योगदान गरेको भन्दै सो प्रतिष्ठानले विशेष कार्यक्रम गरी कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा अभिनन्दन गर्न लागेको हो ।

यस वर्षको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’ वरिष्ठ साहित्यकार बालकृष्ण पोखरेललाई प्रदान गरिने निर्णय गरिएको पनि प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनुभयो । ‘शङ्कर लामिछाने युवा निबन्धकार पुरस्कार’बाट नियात्राकार दामोदर पुडासैनीलाई सम्मान गरिनेछ । दीक्षितलाई अभिनन्दन गरिने सोही दिन ती पुरस्कार वितरण गरिने प्रतिष्ठानले जनाएको छ ।

वरिष्ठ निबन्धकार शङ्कर लामिछानेको स्मरणमा स्थापना गरिएको सो प्रतिष्ठानले नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेका साहित्यकारलाई अभिनन्दन तथा पुरस्कारबाट सम्मान गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया