शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सरकारले आगामी १ वैशाखदेखि मिर्गौलाको निःशुल्क प्रत्यारोपण गर्ने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले मिर्गौला रोगीहरूको उपचारलाई ध्यानमा राख्दै प्रत्यारोपण निःशुल्क गर्ने जानकारी दिनुभएको हो । ‘सरकारले मिर्गौलाको डाइलासिस निःशुल्क गरिसकेको छ । प्रत्यारोपण गर्नेहरूका लागि दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ । त्यस्ता बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन सरकारले प्रत्यारोपणलाई निःशुल्क बनाउने भएको हो,’ मिर्गौला दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री थापाले भन्नुभयो ।

उहाँले दुई सय रुपैयाँमा सरकारी अस्पतालमा मिर्गौलाको परीक्षण गर्न सकिने भन्दै वर्षमा एकपटक सबैले मिर्गौलाको परीक्षण गराउनुपर्नेमा जोड दिनुभयो । ‘सधैँभरि निःशुल्क उपचार गर्न सकिँदैन, मन्त्री थापाले भन्नुभयो, ‘निःशुल्कका नाममा खर्च भएको रकम पनि कसै न कसैले तिरेको छ । त्यसैले नागरिक आफ्नो स्वास्थ्यप्रति सदैव उत्तरदायी बन्नुपर्छ । जसले गर्दा रोग लाग्नबाट बच्न सकियोस् ।’

मन्त्री थापाले काठमाडौंमा मात्रै डाइलासिस सेवा सञ्चालनमा रहँदा उपत्यकाबाहिरका नागरिक मिर्गौला रोगको उच्च जोखिममा रहेको भन्दै सेवालाई विस्तार गर्ने बताउनुभयो । उहाँले कानुनी बाधाका बीचमा पनि चाँडै काठमाडौंबाहिरका अञ्चल अस्पतालबाट डाइलासिस सेवा सुरु गर्ने जानकारी दिनुभयो । सेवा सुरु गर्न प्रत्येक अञ्चल अस्पताललाई आवश्यक उपकरण किन्न रकम पठाइसकेको उहाँले बताउनुभयो । त्यसका लागि दुई हजार स्वास्थ्य चौकीमा मिर्गौला परीक्षण गर्ने उपकरण किन्ने तयारी भइरहेको उहाँको भनाइ थियो ।

बिरामीका लागि निःशुल्क बस सेवा : मानव अंग प्रत्यारोपण केन्द्रले बिरामीहरूको आवत–जावतलाई ध्यानमा राखेर बिहीबारबाट निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । उपत्यकामा गाडीको चाप र रातको समयलाई मध्यनजर गर्दै केन्द्रले ३० सिट क्षमता भएको बस सञ्चालनमा ल्याएको हो ।

केन्द्रले पहिलोपटक स्वास्थ्य पत्रकारिता पुरस्कारको स्थापना गरेको छ । यसै वर्षबाट सुरु भएको स्वास्थ्य पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका अतुल मिश्रलाई प्रदान गरिएको छ । विगत दुई दशकदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाएको भन्दै स्वास्थ्यमन्त्री थापाले २५ हजार रुपैयाँसहित सम्मान गर्नुभएको हो ।

मिर्गौला रोगको मुख्य कारण मोटोपन : चिकित्सकहरूका अनुसार मिर्गौला रोगको मुख्य कारण मोटोपन हो । मोटोपनले मानिसको स्वास्थ्यमा जोखिम बढाउने मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको भनाइ छ ।  ।

तपाईको प्रतिक्रिया