शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

नेपाली खगोलविद्ले क्षुद्र ग्रह पत्ता लगाउने काममा पहिलो सफलता पाएका छन् ।  विदेशी प्रारम्भिक तथ्याङ्कको विश्लेषणका आधारमा नेपाली युवा खगोलविद् क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गर्न सफल भएका हुन् ।

१९ जना खगोल विद्यामा क्रियाशील नेपाली शिक्षक, विद्यार्थी र खगोलविद्ले मङ्गल र वृहस्पति ग्रहबीचका छ वटा क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गरेका नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।

अमेरिकाको हवाईमा भएको पानोरामिक सर्भे टेलिस्कोप तथा ¥यापिड रेस्पोन्स सिस्टम (प्यान्स्टार्स) ले खिचेका एक लाख आठ हजार तस्बिरको अध्ययनबाट नेपाली खगोलविद्ले उपलब्धि हासिल गरेका हुन् ।

नेपाली विद्यार्थीले पत्ता लगाएका क्षुद्र ग्रहको नाम पी–१० वाईएलएफ ९, पी–१० वाईकेएक्सएच, पी–१० वाईकेजेड ५, पी–१० वाईओपीजेड, पी–१० वाईओक्यू र पी–१० वाईपीजेड रहेका छन् ।  यी क्षुद्र ग्रहको नामकरण प्रारम्भिक चरणमा गरिएकाले हवाई विश्वविद्यालय र नासाले यिनको पुनः नामकरण गर्नेछन् ।

क्षुद्र ग्रह सौर्यमण्डल बन्दै गर्दा निर्माण भएको मानिन्छ ।  यस्तो अनुसन्धानले सौर्यमण्डलको उत्पत्तिका बारेमा थप अध्ययन गर्न सहयोग पुग्ने भट्टराईले बताउनुभयो ।

उहाँले क्षुद्र ग्रह जुनसुकै बेला पृथ्वीमा ठोक्किन सक्ने भएकाले त्यसको प्रकृति र स्वभावका बारेमा बेलैमा थाहा पाउन जरुरी हुने पनि भट्टराईले बताउनुभयो ।

अध्यक्ष भट्टराईले अन्तराष्ट्रि स्तरको खगोलीय अनुसन्धान नेपालमा पहिलोपटक भएकाले नेपालका खगोलीय विद्यार्थीलाई यसले अन्तर्रा्ष्ट्रिय जगत्मा पहुँच र अवसर दिने बताउनुभयो ।

अभियानका लागि देशभरका जम्मा पाँच टोली छनौट गरिएको थियो । जसमा चार टोली काठमाडौँका र एक टोली पोखराका थिए  । सिटिजन साइन्स परियोजना अन्तर्गत हाल नेपाल, भारत, पोर्चुगल, पोल्यान्ड, मकाउ, दक्षिण अफ्रिका, ब्राजिल लगायतका विश्वभरका २५ देशको सहभागिता छ ।

तपाईको प्रतिक्रिया