शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

रविन्द्र मिश्रजी, परिवर्तन भनेको केहो ? पुरानालाई नयाँले विस्थापन नगरि परिवर्तन कसरी सम्भव हुन्छ ?

जहिले पनि हामीले गरेको तर्कको आधार के.हो भने ‘पुरानोको जग नभत्काईकन नयाँ निर्माण हुँदैन ।’ पुरानोको जग भत्काउन पनि ठाउँ हुन्छ । परिवर्तनको चाहना गर्ने मान्छेले बुझ्नुपर्ने कुरा के.हो भने परिवर्तन भनेको केवल सैद्धान्तिक । कुरा होइन । सैद्धान्तिक परिवर्तनले मात्रै परिवर्तन आउँछ भन्ने जड धारणाबाट हामी अधिकांश ग्रस्त छौँ ।

यदि म माओवादी हुँ भने माओवादीले नै लिएको अडानबाट परिवर्तन सम्भव छ भनेर सोच्छु । यदि म काँग्रेस हुँ भने काँग्रेसले नै लिएको अडानबाट परिवर्तन सम्भव छ भन्छु । एमाले छु भने त्यही ठान्छु । राप्रपा नेपाल हुँ भने म त्यही ठान्छु, । होइन, परिवर्तन त्यसरी आउँदैन । त्यसरी सिद्धान्तको लडाइँ मात्रै हुन्छ र त्यो सिद्धान्तको लडाइँले के हुन्छ ? तपाईं र हामीजस्ता मान्छेहरू टेलिभिजनमा बसेर बहस गर्छौं, तर्क–वितर्क गछौँ । देश कसरी बनाउने भनेर खूब आफूले पढेको, अनुभव गरेका त्यो विचारहरू छाट्छौँ । तर त्यो होइन । विचारले परिवर्तन हुने होइन । त्यो परिवर्तन भनेको गरेर परिवर्तन हुने हो ।

हाम्रोभन्दा दक्षिणको छिमेकी राष्ट्र संसारकै सबैभन्दा ठूलो भनिएको लोकतान्त्रिक देश हो । हाम्रो उत्तरपट्टि संसारको सबैभन्दा ठूलो साम्यवाद देश, उसले गएको बीस–पच्चीस वर्षमा सिङ्गो युरोपको जनसङ्ख्या भन्दा धेरै ठूलो जनसङ्ख्यालाई गरीबीबाट उकासिसक्यो । हाम्रो छेउमा भुटान छ, भुटानमा अझैं पनि राजतन्त्र छ । अलिकति एउटा बन्द किसिमको प्रकृतिको समाज छ । अझैं पनि भुटानको आर्थिक वृद्धिदर भारत र चीनको भन्दा बढी छ । भुटान मज्जाले विकास गरिरहेको छ ।

वातवरणको संरक्षण गरिरहेको छ । भारतसँग एकदम राम्रो सम्बन्ध राखेर ठूला–ठूला हाइड्रोपावरहरू निर्माण गरिराखेको छ । थिम्पु भएर बग्ने नदीमा नीलो पानी बगेको छ । थिम्पु बजारमा हरेक घरअगाडिको घरले अग्रभाग भुटानकै संस्कृति झल्किने प्रकृतिको बनाउनुपर्छ । आजको दस वर्षमा त्यो भुटान साँच्चिकै साङ्ग्रिला हुँदै छ । विदेशीहरूले त्यहाँ दिनको दुईसय पचास डलर खर्च गर्न सकेन भने प्रवेशसम्म पनि दिँदैन । उसले पनि विकास ल्याइराखेको छ । खाडी क्षेत्रमा हेर्नुस, अझैं पनि पापीहरूलाई सार्वजनिक रूपमा खसी काटे झैं काटिन्छ । तर खाडी क्षेत्रका देशहरूले कति प्रगति गरेका छन्, हामीले देखिराखेका छौँ । त्यसपछि युरोप, युरोपमा कुनै देशमा राजतन्त्र नै बाँकी छ ।

कुनै देशमा गणतन्त्र नै छ । अमेरिका, रूस हरेक देशमा ठाउँमा सैद्धान्तिक रूपमा भिन्न–भिन्न किसिमका राज्य–व्यवस्था र भिन्न–भिन्न सोच छन् । सबैले परिवर्तन गरिराखेका छन् । तर हामीचाहिँ बहुदल राख्ने कि नराख्ने ? जनताको गणतन्त्र भन्ने कि नभन्ने ? राजतन्त्र चाहिने कि नचाहिने भनेर वर्षौंदेखि दशकौँदेखि बहस गरिरहेछौँ ।
अध्ययन, अनुभव र भ्रमणको क्रममा विभिन्न किसिमका राज्य–व्यवस्था अँगालेका मुलुकमा तपाईं जानुभयो । राज्य–व्यवस्था कस्तो चाहिन्छ त ? के भन्छ तपाईंको अनुभवले ?
मेरो व्यक्तिगत धारणा के. हो भने म परोपकारी समाज र परोपकारी राज्य–व्यवस्थामा विश्वास गर्छु । लोककल्याणकारी राज्य–व्यवस्थापनमा विश्वास गर्छु ।

तपाईंले भन्नुभएको राज्य–व्यवस्थापन स्केनडेभियन देशहरुको जस्तो ?
ती देशहरूमा छ । कैयौँ अरू युरोपेली देशहरूमा छ । अष्ट्रेलिया जस्तो, न्युजिल्याड जस्तो देशहरूमा छ । डिग्री अलिकति फरक छ । बेलायतमा पनि छ । मूल रूपमा चाहिँ स्क्यानडेभिएन देशमा छ । मेरो धारणा के. हो भने राज्य असाध्यै समृद्ध र असाध्यै शक्तिशाली हुनु पर्दैन, किनभने नर्वेको उदाहरण तपाईंले लिन सक्नुहुन्छ ।
त्यसै गरी अरू उदाहरणहरू छन्, राज्य ठीकैसँग समृद्ध भए पनि पुग्छ । त्यो समृद्धिलाई राज्यले र त्यहाँका नागरिकहरूले कसरी बाँडीचुडी गरेका छन् भन्ने महत्वपूर्ण कुरा हो । त्यस किसिमको सोचको विकास गर्नको लागि हाम्रो जस्तो समाजमा मलाई के लाग्छ भने एउटा परोपकारी समाज निर्माण गर्नुपर्यो ।
बच्चालाई खुवाउन नसकेपछि अँगालेर कर्णालीमा हाम्फालेर मरेकी आमाको पीडाले तपाईं–मलाई छुनुपर्यो । चेपाङहरूको बस्तीमा तीन–चार दिनसम्म केही पनि खान नपाएपछि घाँस लुछेर खाँदा घाँटीमा घाँस अड्किएर मरेको बच्चाको पीडाले हामीलाई छुनुपर्यो ।

हामीले अधि स्केन्डेभियनको कुरा गर्यौं, उनीहरू जुन रूपमा नेपालमा प्रस्तुत भइरहेका छन्, यो धर्म तथा सामाजिक कार्यहरूको नाममा, राजनीतिक दलहरूसँग उनीहरूको सम्बन्ध र त्यसको अनुदानका नाममा जसरी प्रस्तुत भएका छन्, त्यसले तपाईंले अघि भन्नुभए जस्तो राज्य–व्यवस्थामा लान्छ हामीलाई ?

मेरो त विदेशीहरूलाई र विदेशी अन्तर्राष्ट्रिय सङ्गठनलाई जो नेपाल र नेपालजस्ता तेस्रो विश्वमा काम गरिरहेका सङ्गठनहरू छन्, यिनैले जब सीमान्तकृत मानिसहरूको आवाज भनेर भन्छन् र त्यसका लागि पैसा खर्च गर्छन् । म तिनीहरूलाई मौका पाएँ भने के भन्थेँ भने तिमीहरू सीमान्तकृत समुदायलाई आवाज होइन राम्रो स्कूल देऊ भन्थेँ । तिनीहरूले राम्रो स्कूल दिए भने दस वर्षमा आवाज उनीहरूको आफैं अभिव्यक्त हुन्छ ।

कुनै युरोपेलीले आएर आवाज दिनुपर्दैन । तर तपाईं राम्रो शिक्षा नदिईकन मान्छेलाई आवाज दिनुहुन्छ, त्यसले समाजमा अराजकता सिर्जना गर्ने सम्भावना हुन्छ । त्यहाँ माछा दिइयो, बल्छी दिनुपथ्र्यो ।

( रविन्द्र मिश्रसंग पत्रकार किरण मरहठ्ठाले गरेको कुराकानीमा आधारित )

तपाईको प्रतिक्रिया