बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – स्वस्थ रहनका लागि स्वस्थ जिवनशैली तथा पोषिलो खानपान आवश्यक पर्छ । आजकलका मानिसहरु जिउलाई फिट राख्नका लागि घण्टौँसम्म व्यायाम तथा अनेकथरी योगा पनि गर्छन् ।

दुनियाँमा योगा गर्ने तरिका विभिन्न खालका छन् । हुँदाहुँदा मानिसहरुले अब योगा गर्नका लागि जनावरको समेत सहारा लिन थालेका छन् । अमेरिकामा अहिले बाख्रासँग योगा गर्न थालिएको छ, जसलाई मानिसहरु गोट योगा भन्छन् ।

अमेरिकाको ओरेगनमा पछिल्लो समयमा एउटा ट्रेण्ड चलेको छ । त्यहाँ बाख्रे योगा अर्थात् गोट योगा लोकप्रिय बनिरहेको छ । बाख्रे योगाको बारेमा सुन्दा अचम्म लाग्नसक्छ । योगा गरिरहेको मानिसहरुको बीचमा बाख्राहरु घुमिरहेका हुन्छन् । यति मात्र होइन बाख्राहरु योगीहरुको जिउमाथि पनि चढ्दछन् ।

यो बाख्रे योगामा भाग लिनका लागि मानिसहरु टाढा टाढाबाट योगाशालामा आउँछन् । लेनी मोर्स नामका व्यक्ति बाख्रे योगा प्रशिक्षक हुनुहुन्छ । उहाँले दिनमै कैयौँ योगा कक्षा संचालन गर्नुहुन्छ । बाख्रे योगामा सहभागी हुने मानिसहरुको संख्या बढिरहेको छ ।

विभिन्न राज्यहरुबाट आफुसँग योगा सिक्न आउने मोर्स बताउनुहुन्छ । कतिपय त योगा गर्नका लागि नभै हेर्नकै लागि पनि आउने गरेका छन् । तनाव र दुखमा परेका मानिसहरुलाई बाख्रे योगाले निकै राहत दिने गरेको अनुुभव उहाँको छ । त्यस्ता मानिसहरु बाख्रे योगा गरिसकेपछि खुसी भएर फर्किने गरेका उहाँको दाबी छ ।

तपाईको प्रतिक्रिया