बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

काठमाडौंमा सधैं चर्चा भइरहने विषय पानी, सडक, बिजुली, फोहोरआदि हुन् । सडक केही हदसम्म भएको फराकिलोले काठमाडौंवासीलाई थोरै भए पनि सहज भएको छ । पछिल्लो समयमा २४ सैं घण्टा जसो बिजुली आउन थालेपछि अहिले यसको बहस विस्तारै मत्थर हुँदैछ । तर, अहिले बढि चर्चा खानेपानीको छ । पानीको समस्या र निर्माणधिन मेलम्चि खानेपानी आयोजनाकै कारण यसको बढि चर्चा भएको हो । यसै विषयमा हामीले खानेपानी तथा सरसफाइ मन्त्रालयका राज्यमन्त्री दीपक खड्कासँग पानी बहस गरेका छौं ।

अहिले के मा व्यस्त हुनुहुन्छ ?
अहिले म मन्त्रालयको काममा व्यस्त छु । नेपाल सरकारले केही समय अगाडि नेपाल सरकारले सन् २०१७ को अन्त्यसम्म हरेक जनताको घरघरमा शुद्ध खानेपानी पु¥याउने लक्ष्य राखेको छ त्यसैलाई तीव्र गतिमा अगाडि बढाउन सम्बन्धित पक्षसँग सरसल्लाह र मन्त्रालयले गर्नुपर्ने कामलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छु ।

आम नेपालीले कहिलेसम्म शुद्ध खानेपानी पिउन पाउँछन् ?
अहिलेसम्म ८५ प्रतिशत जनताले खानेपानीको पाएका छन् । यसलाई १०० प्रतिशत पु¥याउनका लागि हामी लागिरहेका छौँ । सरकारले राखेको लक्ष्यमा काम सम्पन्न गर्ने हाम्रो प्रतिवद्धता हो भूकम्पका कारण खानेपानीको मुहान सुकेको छ त्यसैले केही समय ढिलो वा चाँडो हुनपनि सक्छ ।

सन् २०१७ को अन्त्यसम्म खानेपानी पु¥याउने मन्त्रालयको प्रतिवद्धता सम्भव हो्ला ?
अवश्य सम्भव हुन्छ । सबै मिलेर काम गरे अवश्यपनि सम्भव छ । म नेपाली जनताको प्रतिनिधीबाट मन्त्री बनेको हो जनताको समस्यालाई पुरा गर्ने जिम्मेवारी मेरो काँधमा छ । त्यसैले म रातदिन नभनी मन्त्रालयको काममा र खानेपानीको अनुगमन निरिक्षणमा लागिरहेको छु । समयमा काम भए नभएको बारे नेपाली सञ्चारमाध्यामले पनि बेलाबेलामा खवरदारी गर्नुपर्छ ।

काठमाडौँ उपत्यकामा पानी ल्याउनका लागि मेलम्ची आयोजनाको काम कसरी भइरहेको छ ?
निश्चय नै हो मेलम्ची आयोजना बहुप्रतिष्ठित आयोजना हो । देश तथा विदेशीले बडो चासोका साथ हेरेको यो आयोजनासँग ६० लाख जनताको अधिकारको कुरा जोडिएको छ । आजभन्दा करीब २५ वर्ष पहिले कृष्णप्रसाद भट्टराईले मेलम्चीको खानेपानीको उपत्यकाबासीलाई खुवाउने सपना देख्नुभएको थियो उहाँको सपना साकार पार्न हामी लागिरहेका छौँ । मेलम्चीको खानेपानी चाँडो भन्दा चाँडो उपत्यकामा ल्याउनका लागि म, मन्त्रालयका सचिव अवलोकन तथा निरीक्षणमा खटिरहेका छौँ ।

उपत्यकाबासीले मेलम्चीको पानी कहिले प्रयोग गर्न पाउलान् ?
उपत्यकाबासीलाई दसैं अगाडि मेलम्चीको खानेपानी खुवाउने काम हाम्रो लक्ष्य हो । उक्त समयसम्म खानेपानी खुवाउनका लागि हामीले आयोजनाको काम गरिरहेका कम्पनीलाई निर्देशन समेत दिइसकेका छौँ । धेरै पछाडि स¥योभने पनि त्यसको एक या दुईमहिनाभित्र उपत्यकाबासीले खानेपानी प्रयोग गर्न पाउँछन् ।

हालसम्म मेलम्चीको कति काम सम्पन्न भयो त ?
हालसम्म करीब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । मेलम्चीदेखि सुन्दरीजलसम्म २७ किलोमिटर टनेल खन्नुपर्नेमा २२ प्रतिशत पुरा भइसकेको छ । सुन्दरीजल प्रशोधन केन्द्रको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । यस्तै सुन्दरीजलबाट उपत्यकाका विभिन्न ११ ट्याङ्कीमा ल्याउनका लागि ६१ किलोमिटर खानेपानी पाइप विच्छाउनुपर्नेमा ३७ किलोमिटर विच्छाइसकिएको छ भने घरसम्म लैजानका लागि ६७० किलोमिटर पाइप विच्छाउनुपर्नेमा ४७० किलोमिटर विच्छाइसकिएको छ । यसलाई नजरअन्दाज गर्ने हो भनेपनि तोकिएकै समयमा सम्पन्न गर्न सकिन्छ भन्ने हो ।

स्थानीय निर्वाचनकै कारण मेलम्ची आयोजनाको काम प्रभावित हुन्छ कि हुँदैन ?
निर्वाचनले नयाँ विकासका कामहरुमा केही प्रभाव पार्ने हुन् । निर्माणाधिन अवस्थामा रहेको काममा यसले खासै प्रभाव पार्दैन । मेलम्चीको सन्दर्भमा अहिले जुन गतिमा काम भइरहेको छ, सोही अनुरुप काम हुन्छ ।

खानेपानी कै कारण लाखौं जनताले धुलो खानु परेको छ नि, के भन्नुहुन्छ ?
मेलम्चीकै कारणले धुलो खानु परेको अवस्था १० प्रतिशत मात्र हो । सबै कारण हामी होइनौं र यसलाई न्यूनीकरण गर्नको लागि पनि हामीले तत्काल अस्थायी पीच गर्ने वा पानी छम्कने काम चाहिँ गरिरहेकै छौं । हामी यस्ता कुरामा सचेत पनि छौं । काठमाडौंको ट्राफिक व्यवस्थालाई हेरेरै हामीले राति काम गरिरहेका छौं । यो सुखद् पक्ष हो । तर, जे भएपनि १ सय वर्ष पछि बल्लबल्ल मेलम्ची आउँदैछ यसमा हामी सबै खुशी हुनु पर्छ ।

बाटो वा जमिन खनेर गर्नु पर्ने काम (पानी, ढल, बिजुली, केवलका लाइनआदि) सबै एकैसाथ गर्न सकिदैन रहेछ ?
यस्तो काम गर्न सकिन्छ तर त्यसको लागि अन्तरमन्त्रालयबीचको समन्वय आवश्यक छ । हामीकोमा यस्तो छैन । मैले मन्त्रीको पद सम्हालेदेखिनै यही पहल गरिरहेको छु । तपाईंले भन्नु भएको जसरी काम गर्न सकियो भने राज्यलाई पनि ५ गुणा बढि फाइदा हुँदो रहेछ, पाँच महिनामा सक्ने काम एकै महिनामा सकिदो रहेछ । मास्टर प्लानकै कमजोरीले गर्दा पनि यो समस्या आएको हो । तर, अब यसको समाधान पनि छिट्टै हुन्छ ।

मेलम्ची आएपछि पनि काठमाडौंवासीले पानी पाइन भन्नु पर्ने दिन त नआउला नि ?
सबै काठमाडौंवासीले तत्काल पानी पाउँदैनन् । पहिलो चरणमा हामीले ल्याउने १८ करोड लिटरको पानीले रिंगरोड भित्रका वासिन्दालाई वितरण गर्ने हो । त्यस बाहिरका सिमित क्षेत्रमा मात्र पाइन्छ । पछि जब ४ वर्ष भित्रमा थप ३४ करोड लिटर पानी ल्याउने योजना सम्पन्न हुन्छ, त्यसपछि सबैले पानी पाउँछन् । यो योजना सम्पन्न भएपछि नागरिकले जतिमन लाग्छ उति पानीको प्रयोग गर्ने हो, सोही अनुरुपको शूल्क तिर्नुपर्छ ।

यो मन्त्रालयसँग सरसफाइको कुरा पनि गाँसिएको छ सरसफाइको काम के भइरहेको छ ?

निश्चय नै हो सरसफाइ मन्त्रालय पनि हो यो उपत्यकाको सरसफाइ काठमाडौँ महानगरपालिकाले हेरेको छ । हामीले ढलको व्यवस्थापन हेरेका छौँ । अहिले मन्त्रालयले मुलुकभरको ढल व्यवस्थापनका लागि २२ आयोजनामार्फत काम गरिहेको छ । काठमाडौँ, पोखरा, विराटनगर, नेपालगञ्जलगायतका विभिन्न सहरी क्षेत्रको ढल व्यवस्थापनमा मन्त्रालय गम्भीर छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
हाम्रो जीवनको अति आवश्यक वस्तु खानेपानी हो । खानेपानी मानव जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । यस्तो संवेदनशील बस्तुलाई आम नेपालीको घरघरमा पु¥याउने लक्ष्य नेपाल सरकारले राखेको छ त्यसको लागि कर्मचारी गम्भीर हुनुपर्छ । साथै खानेपानीसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रहेका सम्बन्धित निकाय र सञ्चारकर्मी मित्रहरुलाई गम्भीर अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया