बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो – उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्यमी, ब्यवसायी जापानीहरुलाई नेपालमा ढुक्कसंग लगानी गर्न आह्वान गर्नुभएको छ ।

लगानीको सुरक्षाको ग्यारेन्टी नेपाल सरकारले लिने बताउँदै मन्त्री जोशीले नेपालमा निश्चिन्त भएर लगानी गर्न आह्वान गर्नुभएको हो ।

उद्यमी ब्यवसायी जापानीहरुलाई नेपालमा लगानीको अवसर तथा संभावनाबारे जानकारी गराई लगानीका लागि प्रेरित गर्ने उद्देश्यले शुक्रबार साँझ राजधानी टोकियोमा आयोजित एक सेमिनार कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले नेपाल अब नयाँ युगमा प्रवेश गरिसकेको र नेपालका सबै राजनीतिक दलहरु अब आर्थिक समृद्धिको मुद्दामा केन्द्रित भएको बताउनुभयो । उहाँले बैदेशिक लगानीको वातावरण बनाउन सरकारले ऐन, कानुन तथा नीति नियमका साथै प्रक्रियागत झन्झटहरुमा आवश्यक सुधार गरिसकेको बताउनुभयो । बैदेशिक लगानीलाई आकर्षित गर्न आउँदो मार्च महिनाको २ र ३ तारिखमा नेपालमा अन्तर्राष्ट्रिय औद्योगिक सम्मेलन हुन गईरहेको बताउँदै मन्त्री जोशीले उक्त सम्मेलनको बारेमा जानकारी गराई उद्यमी ब्यवसायी जापानी मित्रहरुलाई निमन्त्रणा गर्न आफु जापान आएको बताउनुभयो । उक्त सम्मेलनबाट अन्तर्राष्ट्रिय समुदायलाई लगानीका लागि नेपाल एक उपयुक्त गन्तब्य मुलुक रहेको सन्देश प्रवाह गर्दै लगानीका लागि आह्वान गरिने मन्त्री जोशीको भनाई थियो ।

नेपाली दूतावास टोकियो जापानको आयोजनामा भएको सो कार्यक्रममा मन्त्री जोशीले नेपाल लगानीका लागि प्रचुर संभावना भएको मुलुकमा पर्ने उल्लेख गर्दै नेपाल सरकारले लगानीकर्ताहरुको सुबिधालाई ध्यानमा राखी लगानीको ५ वर्षसम्म कर छुट गरिनुका साथै जुन मुद्रामा लगानी गरिएको हो सोही मुद्रामा कारोबार गर्न सकिने सुबिधा कानुनमा ब्यवस्था गरिएको जानकारी दिनुभयो । बैदेशिक लगानीका लागि हाइड्रो, पूर्वाधार बिकास, पर्यटन, कृषि र खनिजजन्य क्षेत्र गरी प्रमुख पाँच क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको बताउँदै नेपालमा मजदूरदेखि म्यानेजरसम्म जनशक्तिको कुनै अभाव नरहेको, लगभग सबै जिल्लाहरुमा सडक सञ्जाल बिस्तार भईसकेको, राजधानी अब पुरै लोडसेडिङ मुक्त भईसकेको र अन्य जिल्लाहरुमा पनि क्रमशः लोडसेडिङ कम गरिदैं लगिने योजना रहेको मन्त्री जोशीले जानकारी दिनुभयो ।

यसअघि जापानका लागि कार्यबाहक नेपाली राजदूत कृष्णचन्द्र अर्यालले जापान र नेपाल दुई देशबीच रहीआएको प्रगाढ सम्बन्ध र कतिपय बिषयहरुमा रहेका सामाजिक, साँस्कृतिक तथा भौगोलिक समानताले गर्दा जापानीहरुका लागि नेपाल लगानी गर्ने उपयुक्त मुलुक भएकोले नेपालमा लगानी गर्न जापानीहरुलाई आह्वान गर्नुभएको थियो ।

उक्त सेमिनारमा नेपालमा लगानीका लागि प्रक्रियागत जानकारीहरुका साथै अवसर, संभावना र चुनौतीहरुका बारेमा डा. राम गिरीले र नीति, नियम र कानुनी ब्यवस्थाका बारे कानुनब्यवसायी बलराम श्रेष्ठले स्लाईड सामाग्री मार्फत जानकारी गराउनुभएको थियो ।

नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय औद्योगिक सम्मेलनको पूर्वसन्ध्यामा उद्योग मन्त्री जोशीको जापान भ्रमण र सम्मेलनमा भाग लिईदिन जापानीहरुलाई गरिएको निमन्त्रणा एवं लगानीको लागि गरिएको आह्वानलाई अर्थपूर्णरुपमा हेरिएको छ । सेमिनारमा सहभागी कतिपय जापानीहरुले नेपालको राजनैतिक अस्थिरता, लगानीको सुरक्षा, यातायात, खानेपानी र बिद्युत आपुर्ति जस्ता समस्याका बिषयमा चिन्ता जाहेर गरेका थिए ।
उक्त सेमिनार जापानका उद्यमी, ब्यवसायीहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने एक पहलको रुपमा हेरिएको छ । यद्यपि जापानीहरुलाई बिश्वस्त तुल्याउने बलिया आधारहरु सहित प्रशस्त पूर्व तयारीका साथ यस्ता कार्यक्रमहरु नियमित गरिनुपर्ने प्रतिक्रिया नेपालबारे जानकार केही जापानी सहभागीहरुले दिए । होटेल न्यू ओतानीमा भएको सो सेमिनारमा करिव तीन दर्जन जति जापानीहरु र दर्जन जति नेपालीहरुको सहभागिता रहेको थियो । ***

तपाईको प्रतिक्रिया