बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

संशोधित कार्यतालिका अनुसार शनिबार सार्बजनिक विदा भए पनि स्ववियु चुनाव हुने काठमाडौं उपत्यकासहित देशभरका क्याम्पसहरुमा उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ । त्रिभुवन विश्वविद्यालयले सार्बजनिक गरेको कार्यतालिका अनुसार फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ । १५ गते दिउँसो १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । सोही दिन पाँच बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, आंगिक र नेपाल सँस्कृत विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा फागुन १८ गते स्ववियु निर्वाचन हुँदैछ । हरेक दुईदुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन यसपटक आठ वर्ष पछि हुँदैछ ।
यसैबीच, विद्यार्थी भर्ना लगायतका विवादका कारण केही क्याम्पसहरुमा आगजनी र तालाबन्दी भएका छन् । भर्ना विवादका कारण त्रिचन्द्र र अस्कल क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । यता, बिभिन्न माग राख्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा सात विद्यार्थी संगठनहरुले हिजो तालाबन्दी गरेका छन् । पाटन संयुक्त क्याम्पसमा पनि तालाबन्दी भएको छ ।

उता, संविधान संशोधन विना स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको भन्दै असन्तुष्ट मधेस केन्द्रित दल निकट विद्यार्थीहरुले भने तराई मधेसका क्याम्पसहरुमा तालाबन्दी गरेका छन् । दुई नम्बर प्रदेश अन्तर्गतका आठ जिल्लाहरुका प्रमुख क्याम्पसहरुमा ताला लगाइएको छ । हाल निर्वाचनलाई मध्येनजर गर्दै हरेक क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तपाईको प्रतिक्रिया