बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुको स्वास्थ्यस्थिति सुधार र पहुँच सम्बन्धमा कृयाशील रहँदै आएका नेपाली चिकित्सक तथा विज्ञहरुको टोलीले निःशुल्क स्वास्थ्य जाँच तथा परामर्स शिविरको आयोजना गरेको छ ।
टोकियो महानगरपालिकाको सहयोगमा फेब्रुअरी २६ अर्थात भोली आइतबार टोकियो आसागयास्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा विहान १० देखि साँझ ५ बजेसम्म शिविर सञ्चालन गर्न लागेको हो । भाषाका कारण स्वास्थ्य सुविधा लिन नसकेका, विमा नभएका र विभिन्न कारणले स्वास्थ्य सेवा लिन छुटेका नेपालीलाई लक्षित गरी शिविर आयोजना गर्न लागिएको टोलीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
शिविरमा टोकियो महानगरपालिकाले निःशुल्क एक्सरे सेवा उपलब्ध गराउने बताइएको छ । सो शिविरमा आप्रवासीहरुको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील रहनु भएका जापानी चिकित्सक डा. ताकाशि शावादा र डा. तोमिता शिगेरुका साथै नेपाली चिकित्सकहरु डा. सन्दिप शाक्य, डा. सुमन श्रेष्ठ, डा. रिचा शाह, डा. दिपेन्द्र गौतम र क्लिनिकल मनोबिल डा. विजय ज्ञवालीले सेवा दिनुहुने भएको छ । महिलाहरुका लागि छुट्टै महिला डाक्टरको व्यवस्था पनि गरिएको छ ।
शिविरमा सेवा लिन कुनै स्वास्थ्य विमा र एलेन कार्डको आवश्यकता नपर्ने तथा सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराइने आयोजकको भनाइ छ । विरामीलाई थप उपचार आवश्यक परेमा रिफर पत्रसमेत उपलब्ध गराइने बताएको छ । जस्का कारण विरामीलाई थप उपचारमा सहज हुने अपेक्षा आयोजकले गरेको छ । कार्य व्यस्तताका कारण निश्चित समयमा मात्र सेवा लिन चाहनेहरुले उपयुक्त हुने समयमा नाम टिपाउन समेत आयोजकले विज्ञप्ति मार्फत अनुरोध गरेको छ । शिविरको संयोजन भने डा. दिपेन्द्र गौतमले गर्नुहुने भएको छ ।

तपाईको प्रतिक्रिया