बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

गोरखा – बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण सुरु गरेपछि आयोजनाले गति लिन थालेको छ ।
लामो समयदेखि आयोजनाबारे चर्चा भए पनि मुआब्जा वितरण हुन नसक्दा एक हजार २०० मेगावाट क्षमताकोे जलाशयुक्त यस आयोजनाले गति लिन सकेको थिएन । बूढीगण्डकी जलविद्युत् निर्माण हुँदा गोरखाका १४ र धादिङका १३ गाविसको करिब ६० हजार रोपनी क्षेत्रफल जग्गा डुबान पर्छ । त्यसमध्ये पहिलो चरणमा गोरखाका घ्याल्चोक, दर्वुङ, भुम्लिचोक गाविसका प्रभावित बासिन्दालाई रकम वितरण सुरु भएको छ ।
मुआब्जा समितिका संयोजक समेत रहनुभएका गोरखाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार घ्याल्चोकका १२ र दर्वुङका २० जना प्रभावितको बैंक खातामा बिहीबार मुआब्जा रकम पठाइएको छ । प्रभावित क्षेत्रका तीन गाविसका ७२० जनाले मुआब्जा पाउँ भन्दै बूढीगण्डकी विकास समितिको कार्यालय र मालपोत कार्यालयमा निवेदन दिएका थिए । घ्याल्चोक, भुम्लिचोक र दर्वुङका करिब एक हजारको जग्गा आयोजनाको डुबान क्षेत्रमा पर्ने भए पनि सतप्रतिशत प्रभावितले मुआब्जाका लागि निवेदन दिएका छैनन् । मुआब्जा समितिले रु चार करोड ७२ लाख ७२१ मुआब्जा रकम वितरण गरिएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार घ्याल्चोकको १९५२४ वर्गमिटर जग्गा र दर्बुङको १८,७५१.८३ वर्गमिटर जग्गाको मुआब्जा वितरण गरिएको हो । बिहीबार मुआब्जा पाएका प्रभावितले थोरैमा रु एक लाख र धेरैमा रु ८० लाखसम्म पाएका छन् । आयोजनाको डुबान क्षेत्रका बासिन्दाको राष्ट्रिय वाणिज्य बैंकमा खाता खोज्दै उक्त खातामा मुआब्जा रकम पठाइएको हो ।
प्रभावित क्षेत्रका बासिन्दाले भने जग्गाको मुआब्जा दिएर मात्रै नपुग्ने भन्दै घर, गोठ, रुख, फलफूललगायतको पनि उचित मुआब्जा दिनुपर्ने माग गरेका छन् ।

तपाईको प्रतिक्रिया