शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले आईजीपी नियुक्तिसम्बन्धी मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको आदेश स्वतन्त्र नभएको बताएका छन् । आईजीपी नियुक्ति विवादमा बिहीबार सरकारका तर्फबाट बहस गर्दै श्रेष्ठले डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय संविधान, कानुनसम्मत भएको र अतीतका त्यस्ता विभिन्न दृष्टान्त रहेको तर्क गरे। प्रधानन्यायाधीशको एकल इजलासले सरकार पक्षलाई सुनुवाइका लागि पेसीसमेत चढाउन नदिनु कानुनी रूपमा त्रुटिपूर्ण रहेको भन्दै उनले नियुक्तिविरुद्धको रिट बदर गर्न माग गरेका छन् । ‘आईजीपीको निर्णयपछि परेको पूरक रिटमा सर्वोच्च प्रशासनबाट पेसी नै नचढाई सुनुवाइ भएर अन्तरिम आदेश भएको छ । एउटा रिटमा माग छ तर अर्को रिटका आधारमा अन्तरिम आदेश भयो’, श्रेष्ठले बहसमा भने, ‘सुनुवाइप्रक्रिया नै नपुगे निर्णय स्वतः बदरभागी हुने सर्वोच्चका नजिर छन् तर पूरक निवेदनमा प्रतिवादको मौका दिइएन । पेसी पनि तोकिएन ।’
आईजीपीमा नियुक्तिका लागि जयबहादुर चन्दको सिफारिस निर्णयपछि त्यसलाई रोक्न माग राखेर अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिटमा आफ्नो पक्षलाई सूचनासमेत नदिई एकतर्फी रूपमा छलफलमा डाकेको भन्दै श्रेष्ठले आपत्ति जनाएका हुन् । बहसमा श्रेष्ठले भने, ‘बन्दीप्रत्यक्षीकरणका रिटबाहेक सर्वोच्चका रजिस्ट्रारलाई मात्र पेसी चढाउने अधिकार छ । पेसीको प्रक्रियामै कार्यविधिगत त्रुटि छ । जगै भत्केपछि के बाँकी रहन्छ ?’आईजीपी नियुक्ति विवादमा सर्वोच्चमा बुधबारबाट बहस सुरु भएको थियो । अर्को बहस मंगलबार हुनेछ ।

तपाईको प्रतिक्रिया