शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – नागा बाबासँग जोडिएर तस्विर खिचाउन रुचाउने युवा बढ्दै गएका छन् । युवा पुस्ताले नागाबाबाको नाङ्गो दृश्यलाई खासै नराम्रो मान्दैनन् । तर, पाका महिला भने नागाबाबाको नांगो दृश्यले असहज हुने गरेको बताउँछन् ।
‘यो धार्मिक स्थल भएकोले नांगै बस्नु उचित होइन । भगवानको दर्शन गर्न भनेर आएको मन्दिर परिसरमा नांगा मान्छे देखेपछि खल्लो महसुस हुनेरहेछ । परम्परा भएपनि नागाबाबाले गुप्ताङ छोप्नुपर्छ’ रामकला तिवारीले भनिन् । ‘जेठाजुलाई कपाल नदेखाउने प्रचलनमा हुर्किएकी हुँ, तर बाबाको नांगो दृश्यले भगवानकै अपहेलना गरेजस्तो लाग्छ’ इन्द्रकुमारी खत्रीले बताइन् ।

कोही महिला भने नांगो दृश्यले खासै अपठ्यारो नपर्ने बताउँछन् । ‘आफ्नै मान्छे नांगो बसेको पो असहज हुनु चिन्दै नचिनेको व्यक्ति भएकाले नांगो बसेका बाबाले कुनै नराम्रो गरेजस्तो लाग्दैन । नागाबाबा शिवरात्रीकै आकर्षक पनि हो’ राधिका लामिछानेले भनिन् । बाबाहरुको अभद्र व्यवहार भने उनलाई मन नपर्ने बताइन् ।
कतिपय बाबाले युवती देखेपछि पछ्याउने, आशिर्वाद दिएको भन्दै कुचाले टाउकोमा हिर्काउने, लिंगको खरानी लगाउन अनुरोध गर्ने बानीले भने धेरै महिला पीडित हुने गरेका छन् ।

यसैबीच, आज शिवरात्री । पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको घुईचो लागेको छ । आज विहानैदेखि पशुपति नाथको दर्शन गर्न भक्तजन सो परिसर पुगेका हुन् । उनीहरुको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष १३ लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको बताइएको छ । सुरक्षाका लागि नेपाल प्रहरीका चार हजार, सशस्त्र प्रहरी बलका दुई हजार पाँच हजार र राष्ट्रिय अनुसन्धान विभागका चार सय सुरक्षाकर्मी मेलाका लागि खटाइएको छ ।

तपाईको प्रतिक्रिया