शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – उद्योग मन्त्री नविन्द्रराज जोशीले बिदेशमा बस्ने नेपालीहरुलाई नेपालमा उद्योग दर्ता गर्न आह्वान गर्नुभएको छ । उहाँले नेपालमा उद्योग ब्यवसाय सञ्चालन गर्न चाहने नेपालीहरुका लागि सरकारले औद्योगिकमैत्री वातावरण निर्माणमा जोड दिएको बताउनुभयो । जसअनुसार उद्योग, ब्यवसाय दर्ता गर्दा झेल्नुपर्ने पुराना र झन्झटिला प्रक्रियामा सुधार गरी सेवाग्राहीलाई शिघ्र सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

बिहीबार साँझ टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री जोशीले युवा बेरोजगार समस्या हल संगै मुलुकको तिब्र आर्थिक बिकास गर्न सरकारले उद्योग ब्यवसायतर्फ प्रोत्साहनमा जोड दिएको र सो अनुसार नीति नियमहरुमा समेत आवश्यक परिमार्जन गरिएको बताउनुभयो । उहाँले नेपालको औद्योगिक प्रणालीलाई समयानुकुल आधुनिकरण गरिनु आवश्यक रहेको भन्दै उद्योगी ब्यवसायीहरुलाई सहज होस् भन्ने उद्देश्यले अनलाईन पेमेन्ट तथा डिजिटल सिग्नेचरको ब्यवस्था गरिन लागिएको पनि खुलासा गर्नुभयो । उहाँले बिदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न छिट्टै नेपालमा अन्तर्राष्ट्रिय औद्योगिक सम्मेलनको आयोजना गर्न लागिएको पनि बताउनुभयो ।
’नेपालको औद्योगिक बिकास र स्वदेशी उत्पादनको प्रबर्द्धनमा गैर आवासीय नेपालीहरुको भूमिका’ बिषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री जोशीले प्रवासमा बस्ने नेपालीहरुले बिदेशीहरुमाझ बिभिन्न ढंगले प्रचारप्रसार र प्रयोग गरेर स्वदेशी उत्पादनको प्रबर्द्धनमा सहयोगी भूमिका खेल्न पनि आह्वान गनुभयो ।
एनआएनए जापानको आयोजनामा भएको सो कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकभित्रै प्रशस्त रोजगारीको सिर्जना गर्न उद्योग धन्दाहरुको बिकास र बिस्तार गरी कृषिमा आधुनिकीकरण गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले बिदेशमा रहेका नेपालीहरुले नेपाल राष्ट्र बैंकले निष्कासन गरेको सरकारी बचतपत्रमा लगानी गर्न पनि आह्वान गर्नुभयो । उहाँले चालु आर्थिक वर्षमा मुलुकको लक्षित महत्वाकाँक्षी आर्थिक बृद्धिदर ६ दशमलव ५ प्रतिशत राखिएकोमा गत ६ महिनाको मध्यावधिलाई हेर्दा प्राप्त सन्तोषजनक नतिजाले उत्साहित बनाएको बताउनुभयो । उहाँले नेपाली युवाहरु सस्तो श्रम बेच्न बिदेश जाने प्रवृत्तिलाई रोक्न नेपाल राष्ट्र बैंकद्वारा गरिएको प्रयास अनुसार गत ६ महिनामा बिदेश जानेहरुको संख्या ९ प्रतिशतले घटेको बताउनुभयो । डेपुटी गभर्नर शिवाकोटीले नेपालको मुद्रास्फिति सुधारोन्मुख दिशातर्फ गईरहेको बताउँदै नेपाल सरकारले गत ६ महिनामा कुल राष्ट्रिय बजेटको जम्मा ११ प्रतिशत मात्र खर्च गर्न सकेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै जापानका लागि कार्यबाहक नेपाली राजदूत कृष्णचन्द्र अर्यालले जापानीहरुलाई नेपालमा उद्योग ब्यवसायमा लगानीका लागि प्रोत्सहित गर्न दूतावासद्वारा बिभिन्न ढंगले प्रयास र पहल भईरहेको जानकारी गराउँदै स्वदेशी उत्पादनलाई जापानको बजारमा प्रबर्द्धन गर्नका लागि पनि दूतावासले भरमग्दुर प्रयास गरिरहेको बताउनुभयो । उहाँले बिदेशीहरुका लागि नेपालमा लगानीको वातावरण सिर्जना गर्न झन्झटिला कानुनी प्रक्रियाहरुमा सुधार गरिनुपर्ने सुझाव जापानीहरुबाट प्राप्त हुने गरेको बिचार पनि ब्यक्त गर्नुभयो ।
सो अवसरमा एनआरएनए आइसीसीका उपाध्यक्ष भवन भट्ट र एशिया प्यासिफिकका क्षेत्रीय संयोजक किरणविक्रम थापाले नेपालमा औद्योगिक सँस्कारको बिकासमा हातेमालो गर्न गैर आवासीय नेपालीहरु आतुर रहेको तर यसका लागि सरकारले आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
एनआरएन जापानका अध्यक्ष सुदन थापाको सभापतित्वमा भएको सो अन्तर्क्रिया कार्यक्रमका अवसरमा नेपालको औद्योगिक बिकास र स्वदेशी उत्पादनको प्रबर्द्धनमा सहकार्य गर्ने बिषयमा नेपाल सरकारको उद्योग मन्त्रालय र एनआरएनए जापान बीच एक सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । उद्योगमन्त्री जोशी र एनआरएन जापानका अध्यक्ष थापाबीच उक्त सहमति पत्र आदानप्रदान भएको हो । कार्यक्रममा सहभागीहरुले मन्त्री जोशीसंग अन्तर्क्रिया पनि गरेका थिए । जापानका लागि पर्यटनदूत समेत रहेका एनआरएन जापानका महासचिव अनुज थापाको सहजीकरण रहेको सो कार्यक्रममा जापानका बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, पत्रकार तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । मैत्रीपूर्ण रात्रीभोजसहितको उक्त कार्यक्रम सिन्जुकुस्थित प्रिन्स होटलमा भएको थियो ।***

 

तपाईको प्रतिक्रिया