बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

कञ्चनपुर – आन्दोलनरत कञ्चनपुरका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित र प्रहरीबीच झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर बजारमा आज दोहोरो झडप भएको छ । शुक्लाफाँटा निकुञ्ज जग्गा अधिग्रहण र मुआब्जा उपलब्ध गराउन गठित कार्यदलले काम सुरु गरेसँगै विस्थापितहरु झन्डै दुई सातायता आन्दोलनमा छन् । दबाब दिने उद्देश्यले आज बिहान १० देखि ५ बजेसम्मका लागि अवरुद्ध पारेको पूर्व–पश्चिम राजमार्गको कलुवापुर खण्ड खुलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।

झडपले उग्र रुप लिनथालेपछि शान्ति सुव्यवस्था कायम राख्न प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार गरेको छ । तीन सयभन्दा बढीको सङ्ख्यामा राजमार्ग अवरुद्ध गर्न पुगेका विस्थापितले पुनःस्थापनाको माग गर्दै यसअघि सदरमुकाम भीमदत्तनगरमा पनि विभिन्न दबाबमूलक कार्यक्रम गरेका थिए ।

विस्थापितको समस्या समाधानका लागि गठित २८औँ आयोगको प्रतिवेदनअनुसार देखिन आएका एक हजार ४८० परिवारको अद्यावधिक कार्य सुरु भएसँगै विस्थापितले असहमति जनाउँदै आएका छन् । आयोगका प्रतिवेदनअनुसार विस्थापित परिवारको कागजात छानबिन गरी जग्गा मुआब्जा वा आर्थिक राहत दिने कार्यदलले तयारी गरेको थियो । तर विस्थापितले दुई हजार ४७३ परिवार पूर्णरुपमा विस्थापित रहेको दाबी गर्दै सबैलाई सम्बोधन गर्नुपर्ने माग राख्दै आएका छन् ।

विसं २०५८ मा निकुञ्ज विस्तारका क्रममा जग्गाको प्रमाण पुर्जा भएकालाई सरकारले प्रतिपरिवार १० कट्ठा जग्गा उपलब्ध गराएको थियो । अद्यावधिक तथ्याङ्क फाराम भर्न कार्यदलको सम्पर्क कार्यालय भीमदत्तनगरमा स्थापना गरिएको छ । कार्यदलले अद्यावधिकका लागि विस्थापितलाई फागुन १ देखि आगामी वैशाख २ गतेसम्मका लागि समयसीमा तोकेको छ । तर विस्थापितहरु मुआब्जा र राहत रकमप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका छन् ।

तपाईको प्रतिक्रिया