बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

न्यूयोर्क – अकेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नयाँ नीति सार्वजनिक भएको छ । नीतिमा राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ ।
पहिल्लो केही दशकयताकै यो सबैभन्दा कडा आप्रवासी नीति हो । अमेरिकामा झन्डै एक करोड २० लाख भन्दा बढी आप्रवासी अवैधानिक रुपमा बसोबास गर्दै आइरहेका बताइन्छ । नीतिअनुसार संघीय सरकारले कागजविहीन आप्रवासीलाई पक्राउ गर्ने र देशनिकाला गर्ने अभियान द्रुत रुपमा बढाउनेछ । र त्यसका लागि १० हजार ‘फोर्स’ थपिने छ । अपराधमा संलग्न भएकाहरुलाई प्राथमिकता सूचीमा राखिएपनि ट्रम्प प्रसाशनको आक्रामक नीतिले अवैधानिक रुपमा रहेको जो कोहीलाई खतरा रहेको आप्रवासी कानुनका जानकारहरु बताउँछन् ।
यो नीतिले अमेरिकामा बिनाभिसा रहँदै आएका नेपालीहरु पनि प्रभावित हुनेछन् । हवाई, जल र स्थलमार्ग हुँदै अवैध रुपमा अमेरिका छिरेकाहरु यसबाट सबभन्दा बढी प्रभावित हुनेछन् । यस अघि ओबामा प्रशासनले गम्भीर अपराधमा संलग्न, सामाजिक सुरक्षामा खतरा पैदा गर्न सक्ने एवं अवैधानिक रुपमा भर्खरै अमेरिका पसेकालाई देश निकाला गर्ने नीति कार्यान्वयन गर्दै आएको थियो । तर, ट्रम्प प्रशासनले काजविहीन आप्रवासीको हकमा अपराधको परिभाषालाई बदलेको छ । ट्राफिक नियम पालना नगरेको घटना, नक्कली कागजातको प्रयोग, अर्कैको सोसल सेक्युरिटी नम्बर प्रयोग गरेर रोजगारी लिने जस्ता सामान्य घटनामा संलग्नलाई समेत देश निकालाको प्रक्रियामा राख्ने ट्रम्प प्रशासनको नीति रहेको आप्रवासी कानुन सम्बन्धी अधिवक्ता विनोद रोकाले बताए । यसबाट नेपाली आप्रवासी पनि अछुतो नरहेको उनको भनाइ छ । यसबाट अझ बढि मेक्सिको सिमानाबाट आउनेलाई संकट पर्न सक्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया