मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

टोकियो – थकाली सेवा समिति जापानले आउदो मार्च १९ तारिख आइतबारका दिन थकालीहरुको महान् चाड फागुपुर्णिमा ”तोरन्ल्ह” को शुभ अवसरमा आफ्नो वार्षिक साधारण सभा तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

फागुपुर्णिमाको एक हप्ता अघि अर्थात् मार्च १२ तारिखको दिन थकालीहरुको देवता ईष्ट देव महागुरु नरिझ्यव र चार चनको देवतालाई पुजाआजा गरी थकालीहरुको परम्परागत खेल धनुषवाण पनि खेलिने कार्यक्रमका संयोजक हेमन्त शेरचनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संस्थाका अध्यक्ष बुद्धि गौचनका अनुसार थकाली सेवा समिति जापानले आफ्नो मौलिक सामाजिक संस्कारलाई विशेष ध्यानमा राख्दै विगतमा जस्तै थकालीहरुको परम्परागत धनुषवाण खेल, आफ्नै विशिष्ट खानपिनका परिकारले देवतालाई पूजा गर्ने संस्कार सहित आफ्नो महान् चाड “तोरन्ल्ह” बार्षिकि कार्यक्रमको रूपमा भब्यताकासाथ आयोजना गरिने जनाउनु भयो ।

मार्च १९ तारिख आइतबारका दिन ईकेगामि खाईकानमा हुन गइरहेको संस्थाको वार्षिक साधारण सभा तथा विविध सांस्कृतिक कार्यक्रम एवं मौलिक भेषभुषा प्रदशन सहित “तोरन्ल्ह धमाका” मा जापानबासि सम्पूर्ण थकालीहरु तथा अन्य नेपालीहरूलाई पनि उपस्थितिको लागि हार्दिक अनुरोध गर्नु भएको छ ।

त्यसै गरी थसेस जापानका संस्थापक तथा संरक्षक शरद कुमार गौचनका अनुसार, फागुपुर्णिमा अर्थात् “तोरन्ल्ह” भनेको, पितृ देवताको अर्थ रहेको र प्रत्येक वर्षको फागु पुर्णिमाको दिनलाई बिचमा पारि तीन दिन सम्म थकाली जातीहरुले “तोरन्ल्ह” पर्व धुमधामका साथ मनाउने महान् चाड हो । तोरन्ल्ह पर्वमा थकाली जातिहरुको आफ्ना स्वर्गिय पितृहरुको संम्झनामा भक्तिभावका साथ पूजाआजा गर्नाले निरोगी हुनुको साथै सुख, समृद्ध र धनाध्यय हुन सकिने धारणा रहेको छ ।

फागु पुर्णिमाको अघिल्लो दिनमा फलफुल, रोटी , विभिन्न थरीका मासुका परिकार र प्हाट्हुङ, काट्हुङ (आन्द्रामा गहुको पिठो वा रगत भरेको विशेष परिकार) लगायतका मिष्ठान खानेकुराहरुलाई सफा भाँडामा सजाएर अखण्ड, दीप, धूप, फलफुल, सेलरोटी,जाँड र रक्सी आदि चौरासी व्यञ्जन जुराई पहिलो दिनको मध्यरातको समयमा घर नजिकको धारा वा पंधेरामा नुहाई चोखो पानी सहित उक्त चौरासी ब्यन्जन पितृदेवलाई चढाईन्छ । यो सबै विधिलाई “खिमी च्हयुजी” भनिन्छ र यो थकाली जातिको पिण्ड दिने तरिका हो ।

यस “तोरन्ल्ह” पर्वमा विशेष गरेर पुरुषहरू तारा (धनुषवाण) खेल खेल्छन भने महिलाहरू नाकाभोटे (ढुङ्गाको गोटी) खेल्ने परम्परा छ । पर्वको मुख्य दिन पछि आफ्ना बिबाहित चेलीबेटि र ज्वाँईहरुलाई बोलाई मिठो चोखो खानेकुराहरु खुवाउने तथा पर्वको मुख्य दिनमा चेलीबेटीद्धारा माईती कहाँ रक्सी, रोटी, कुखुरा, तोरीको तेल आदि लिएर आदरका साथ पुर्‍याउने एवं माईतीबाट चेलीबेटी र ज्वांईहरुलाई नगद वा जिन्सी उपहार स्वरूप दिने चलन रही आएको कुरा संरक्षक गौचनले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया