शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आश मर्‍यो ।’
रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन् । मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटकपटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे । तर, कुनै पहल नभएपछि बाँच्ने आश मारेका छन् । उनीजस्तै अन्य १३ युवालाई मलेसियाको उच्च (पुनरावेदन) अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । यी नेपाली कामदारले आफूलाई फसाइएको भन्दै पटकपटक जीवनरक्षाको अपिल गरे । दुई वर्षयता विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको छ । संघीय अदालतमा मुद्दा पेस हुने क्रममा छ । यो तहसम्म पुगेपछि जीवन बच्ने सम्भावना न्यून हुने कानुनी व्यवस्था छ ।
लागुऔषध ओसारपसार, कारोबार र कर्तव्य ज्यानमुद्दामा मृत्युदण्ड सुनाइएका अधिकांश नेपालीलाई फसाएको पाइएको मलेसियास्थित राजदूत निरञ्जनमानसिंह बस्न्यातले बताए । अधिकांश घटनामा घरमालिक र उनका परिवार गैरकानुनी गतिविधिमा संलग्न हुने र ओसारपसारमा नेपाली कामदारलाई लगाउने गरेको उनी बताउँछन् । त्यस्तो अवस्थामा प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको खुलेको बस्न्यातले बताए ।

तपाईको प्रतिक्रिया