बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – नेपालका जिज्ञानकुमार थापा सहित अन्य पाँच जना जापानीहरु युथ लिडर अवार्डबाट सम्मानित भएका छन् ।

मंगलबार साँझ टोकियो रोप्पोङ्गी हिल्समा आयोजित एक समारोहका बिच थापासहित ६ जना युवाहरु सम्मानित भएका हुन् ।

बिभिन्न क्षेत्रमा योगदान पुर्‍याएबापत उनीहरुलाई डेभलपमेन्ट एसोसियशन फर युथ लिडर्स नामक एक संस्थाले युथ लिडर अवार्डले सम्मानित गरेको हो ।
आठौं युथ लिडर अवार्डबाट सम्मानित हुनेहरुमा जिज्ञानकुमार थापा, ओदा युरिको र ओदा योइची (जोडी), हानायागी कोतोओमी, फुजिसावा रेत्चु र इवाचुकी युका रहेका थिए ।

उक्त संस्थाले पहिलो पटक बिदेशी नागरिक र दम्पतीलाई सो पुरस्कारले सम्मानित गरेको हो ।
नेपाल र जापानको सम्बन्धलाई थप सुदृढ गर्दै जापानलाई अन्तर्राष्ट्रियकरण गर्नमा योगदान पुर्‍याएको भन्दै थापालाई सम्मानित गरिएको हो । थापाले नेपाल तथा जापानको महाभूकम्पका बेला सक्रियकासाथ स्वयमसेवी भूमिका निभाएका थिए भने नेपाल र जापानका बालबालिकाहरुको सम्बन्ध बिस्तारका लागि तामागो प्रोजेक्ट सञ्चालनमा ल्याएका छन् ।

युथ लिडरको अवार्ड सम्मान ग्रहण पश्चात बोल्दै थापाले उक्त सम्मान जापानबासी समस्त नेपालीहरुको लागि भएको बताए । जापानबासी नेपालीहरुको सहयोग सद्भाव र सहकार्यको परिणामतः उक्त अवार्ड पाएको उनले बताए । ‘यस अवार्डबाट सम्मानित हुन पाउँदा ज्यादै खुशी लागेको छ, यसलाई मैले अत्यन्त गहनरुपमा लिएको छु’ – थापाले भने – ‘अवार्ड प्राप्तीसंगै अझ थप सिर्जनात्मक कामहरु गर्ने जिम्मेवारी थपिएको महशुस गरेको छु ।’
https://www.facebook.com/samudrapari/videos/1545037125524003/

अवार्ड बितरण समारोहमा बिभिन्न क्षेत्रका जापानीहरुका साथै जापानका लागि कार्यबाहक नेपाली राजदूत कृष्णचन्द्र अर्याल, एनआरएन आइसीसी उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष सुदन थापा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, एभरेष्ट इन्टर्नेशनल स्कुल जापानका अध्यक्ष डा. भूपालमान श्रेष्ठलगायतका नेपालीहरुको उपस्थिति रहेको थियो ।

सो अवार्ड बितरण समारोहमा एभरेष्ट इन्टर्नेशनल स्कुलका विद्यार्थीहरुले मौलिक नेपाली कला र सँस्कृति झल्कने नृत्य पनि प्रस्तुत गरेका थिए । ****

 

तपाईको प्रतिक्रिया