शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – गोरखाका २८ बर्षीय बिनोद कुमार (नाम परिवर्तन) र गोरखाकै अनिता खत्री (नाम परिवर्तन) करिब आठ बर्षअघि काठमाडौंमा ‘लिभ–इन रिलेसनसिप’ मा थिए । यसबीचमा बिनोद भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गए । कोरियामा रहँदा पनि बिनोद र अनिताबीच सुमधुर सम्बन्ध रह्यो ।

बिनोदले अनितालाई नियमित रुपमा पैसा र उपहार पठाइरहे तर कोरियाबाट फर्केपछि भने बिनोदले अनितासँग बिहे गर्न अस्वीकार गरे । आफू कोरियामा भएको बेला अनिताले नेपालमा अर्कै केटासँग सम्बन्ध जोडेको र कोरियाबाट पठाएका उपहार केटा साथीलाई दिएको बिनोदको दाबी थियो ।

बिनोदले बिहे गर्न अस्वीकार गरेपछि अनिताले गत असोज ३० मा महानगरीय प्रहरी वृत्त महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीमा उजुरी गरिन् । केन्द्रले समस्या समाधानका लागि पहल गरेपनि सहमति जुट्न नसकेपछि अनिताले बिनोदविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कार मुद्दा दायर गरिन् । अनिताले बलात्कारको आरोप लगाए पनि अनुसन्धानका क्रममा बिनोदको दाबी बलियो देखियो भने अनिताको पनि गल्ती देखियो । त्यसपछि अदालतले बिनोदलाई धरैटीमा रिहा गर्योे ।

सामान्यतया यस्ता मुद्दामा आरोपितलाई जेल पठाउने प्रावधान भएपनि यस घटनामा केटीको गल्ती देखिएकोले अदालतले बिनोदलाई धरौटीमा छोडेको थियो । काठमाडौंमा साउन यता लिभिङ टुगेदर असमझदारीमा परिणत भएका ३१ वटा उजुरी दर्ता भएका छन् । सबैजसो घटनामा लामो समयसम्म लिभिङ टुगेदरमा बसेपछि पुरुषले बिहे गर्न नमानेको भन्दै नाता प्रमाणीकरण गरिदिन तथा बिहे गराइदिन माग गरिएको छ ।

तपाईको प्रतिक्रिया