मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

पाकिस्तान – विद्रोही विरुद्धको अभियानको क्रममा एक सय भन्दा धेरै बिद्रोही मारिएको पाकिस्तानी अधिकारीले बताएका छन् ।

सिन्ध प्रान्तमा रहेको सुफी सन्त लाल शाहबाज कलनदरको दरगाह अर्थात पवित्र धार्मिकस्थलमा भएको आक्रमणपछि पाकिस्तानी सुरक्षाकर्मीले सुरु गरेको अभियानको क्रममा एक सय भन्दा धेरै बिद्रोहीको ज्यान गएको हो ।

दरगाहमा बिहीबार भएको आत्मघाती आक्रमणमा कम्तिमा ८० जनाको ज्यान गएको थियो भने दुई ५० भन्दा धेरै घाइते भएका थिए । त्यसपछि पाकिस्तानी सेनाले सिन्ध तथा पञ्जाब प्रान्तसहित देशभर सुरु गरिएको कारवाही अभियानको क्रममा एक सय भन्दा धेरै बिद्रोहीको ज्यान गएको पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले बताउनुभयो ।

अभियानको क्रममा धेरैलाई पक्राउ पनि गरिएको छ । बिहीबार दरगाहमा भएको आक्रमणको प्रधानमन्त्री नवाज शरीफले निन्दा गर्दै घटनामा संलग्न विरुद्ध कारवाही अभियान चलाउन निर्देशन दिनुभएको थियो ।

कारवाही अभियान जारी रहेको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानमा पछिल्लो समय विभिन्न ठाउँमा आत्मघाती आक्रमण हुने क्रम बढेको छ ।

तपाईको प्रतिक्रिया