बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो – नेकपा एमालेका केन्द्रिय सदस्यसमेत रहेका युवा नेता ठाकुर गैरेले बिदेशमा अध्ययनरत विद्यार्थीहरुबाट मुलुकले ठूलो अपेक्षा राखेको बिचार ब्यक्त गरेका छन् । नेता गैरेले समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

नेकपा एमालेको जापानस्थित भ्रात्तृसंगठन प्रवासी नेपाली मञ्च (ONF) को विद्यार्थी बिभागद्वारा आइतवार टोकियोमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता गैरेले बिदेशको अध्ययनबाट सिकेका, जानेका अनुभव, सीप र ज्ञानलाई स्वदेशको समृद्धि निर्माणमा उपयोग गरिनुपर्नेमा जोड दिए । नेता गैरेले संबिधान संशोधन भन्दा निर्बाचन मुलुकको आवश्यकता भएको जिकिर गर्दै केही जिम्मेवार दलहरु निर्बाचनमा जान आनीकानी गरिरहेको आरोप लगाए ।

एक कार्यक्रममा भाग लिन छोटो समयका लागि जापान आएका नेता गैरेको प्रमुख आतिथ्यतामा भएको उक्त अन्तर्क्रिया कार्यक्रममा पार्टीको कानुन बिभाग प्रमुख समेत रहेका एमालेका अर्का नेता ओम थपलिया, युवा नेता डा. सूर्य पाठक लगायत जापानका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले पनि आ-आफ्नो धारणा राखेका थिए । समृद्ध नेपाल निर्माणका लागि प्रवासी विद्यार्थीहरुको भूमिका बिषयक अन्तर्क्रिया कार्यक्रममा नेपाली जनसम्पर्क समितिका अध्यक्ष डिपी कँडेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, आयोजक संस्थाका उपाध्यक्ष मोहन रायमाझी, सल्लाहकार डा. बिजय ज्ञवाली लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

शिनओकुबो स्थित टोकियो रोधी क्लवमा भएको सो कार्यक्रम मञ्चका बिद्यार्थी बिभागका प्रमुख अच्युत लोहनीको सभापतित्व र मदन चापागाईंको सञ्चालनमा भएको थियो । ***

तपाईको प्रतिक्रिया