बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – स्कुले जीवनमा मुक्का बजार्ने बेगबहादुर राना हिजोआज हृदयमा कोमल र सुन्दर शब्द/लय खेलाउन थालेका छन् । २०५८ सालमा काठमाडौं छिरे पछिको दुःख र पीडाले उनलाई साहित्य सिर्जना गर्न बाध्य बनाएको थियो । आफ्नै दुःख उनी कागजमा पोख्थे र गीत मार्फत गुनगुनाउँथे ।

काठमाडौंले उनलाई बढी हिर्काएपछि उनी वैदेशिक रोजगारका लागि आबुधावी हानिए । करीब आठ वर्ष आबुधावीमा रहँदा बगाएको पसिनाले उनलाई कर्म सिकायो । यो बीचमा उनी नेपाल आउँदै–जाँदै गर्दा आफ्ना भोगाइहरुलाई गीतमा उतार्थे र लय सिर्जेर एल्बम निकाल्थे । ‘सकिन जुन छुन’, ‘मूलको पानी मन पर्छ’, ‘मन रुन्न र ?’ जस्ता गीति एल्बमहरुले तीनै कथा बोले – जुन बेग रानाको शब्द, लय र आवाजमा सजियो । लोक गायक बेग राना यतिखेर काठमाडौं मै छन् । उनले भर्खरै बुढी राम्री अर्काको नाममा रोइला गीत बजारमा ल्याएका छन् । लोपोन्मुख लोक गीतलाई संबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ बजारमा ल्याएको गीतमा शब्द र लय बेग रानाको रहेको छ भने स्वर गायक स्वयम् र मुना थापाको रहेको छ । बुढापाकाहरुले गर्ने ठट्यौली गफलाई उतारिएको गीत जिननियस म्यूजिकले बजारमा ल्याएको हो ।

सल्यानकोट–४, चैनपुर धादिङमा जन्मिएका उनको माया (श्रीमती) यतिखेर जापानमा हुनुहुन्छ । तर, गायक बेग रानालाई जापान मोह भने त्यत्ति छैन । भन्छन् – ‘आठ वर्ष वैदेशिक रोजगारमा रहँदा विदेशमा पाउने दुःखसँग म पूर्ण परिचित छु । विदेश जानै हुँदैन भन्ने होइन, तर विदेशमा सिकेका सिप नेपालमा आएर सिकाउनु पर्यो ।’ समुद्रपारिसँगको कुराकानीमा उनले अब गायन मार्फत विदेशमा रहेका नेपालीहरुलाई देश फर्क अभियान सुरु गर्ने समेत बताए ।

‘लोक शैलीमा एउटा त्यस्तो एल्बम निकाल्दै सोचमा छु जस्ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई एक पटक देश ‘मोह’ जगाइदिनेछ ।’ गायक बेग भन्छन् – मरो जापानमा मोह छैन, माया छ । मायालाई त्यही एल्बमले नेपालमा तान्नेछ ।

भिडियो हेर्नुहोसः 

तपाईको प्रतिक्रिया