शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – तेस्रो नमुना बस्ती निर्माणका लागि सहयोग संकलन गर्न आएका धुर्मुस–सुन्तलीलाई अष्ट्रेलियाबाट ८२ हजार डलर करिब ६५ लाख रुपैयाँ सहयोग जुटेको छ ।

करिब ३ साता लामो सहयोग संकलनको अभियान पूरा गरेर उनीहरु आज नेपाल फर्किएका छन् । सांगीतिक कार्यक्रमसहित महोत्तरीमको मुसहर बस्तीमा निर्माण भइरहेको तेस्रो एकीकृत नमुना बस्ती निर्माण सम्पन्न गर्न सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) हास्य कलाकार दीपक आचार्य र गायक भरत सिटौला सहित अष्ट्रेलिया आएका थिए ।

उनीहरुले अष्ट्रेलियाका चार मुख्य सहरहरु सिड्नी, मेलबर्न, एडिलेड र ब्रिसबनमा आयोजना गरिएको कार्यक्रमबाट ८२ हजार डलर संकलन गरेका हुन् । उनीहरुका अनुसार करिब ५० लाखको सहयोग संकलन हुने अपेक्षा राखेका उनीहरुले आफूले सोचेको भन्दा राम्रो सहयोग जुटेकोमा खुसी व्यक्त गरेका छन् ।

तर पनि अझै करिब २ करोड ५० लाख रुपैयाँ संकलन गर्न बाँकी रहेको सुनाउँदै उनीहरुले नयाँ वर्षमा मुसहर बस्तीका स्थानीयवासीलाई ५० घर हस्तान्तरण गर्ने आफ्नो लक्ष्य पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

मुख्य आयोजक गजबको इभेन्टका प्रदीप चापागाईंका अनुसार अष्ट्रेलियाको सिड्नीबाट २५ हजार, मेलबर्नबाट २३ हजार, एडिलेडबाट १५ हजार र ब्रिसबनबाट १९ हजार डलर सहयोग संकलन भएको छ । सहयोग संकलन अझै जारी नै रहेकाले यो रकम बढ्नसक्ने समेत उहाँले बताउनुभयो ।

धुर्मुस– सुन्तलीलाई अष्ट्रेलियामा रहेका नेपालीहरु मात्र नभएर नेपालीभाषी भुटानीहरुले समेत सहयोग गरेका थिए भने उनीहरुको हास्यव्यङ्ग कार्यक्रमबाट समेत दर्शकहरुले मनोरञ्जन लिएका थिए ।

तपाईको प्रतिक्रिया